Logo

२१ असोज, काठमाडौं । जेनजी युवा आन्दोलनमा दमनको आरोप लागेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध किटानी जाहेरी दिने प्रयास भएसँगै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले त्यसको तीव्र ‘काउन्टर दिने तयारी गरेको छ ।

अनेरास्ववियुले काठमाडौं महानगरका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङ विरुद्ध किटानी जाहेरी दर्ता गर्न काठमाडौं प्रहरी परिसर जान लागेको छ ।

अराजकताको आरोपमा जाहेरी

स्रोतका अनुसार, अनेरास्ववियुको बैठकले सिंहदरबार लगायतका सरकारी संरचनामा आगजनी, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरूको हत्या गरिएको घटनामा बालेन र सुधनलाई मुख्य आरोपित गर्दै जाहेरी दिने निर्णय गरेको छ । अनेरास्ववियुका महासचिव दीपक धामीले आज साँझ ५ बजेभित्र किटानी जाहेरी दर्ता गराउने गरी तयारी भइरहेको पुष्टि गरेका छन् ।

राजनीतिक ‘टिट फर ट्याट’

यसअघि सोमबार, सुधन गुरुङको समूहले जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दर्ता गर्न खोजेको थियो, तर प्रहरीले जाहेरी लिन मानेन । त्यस विषयमा प्रधानमन्त्री सुशीला कार्कीले उच्च सुरक्षा अधिकारीहरूसँग मध्यरातसम्म छलफल गरेकी थिइन् । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले यस्तो जाहेरी दर्ताका लागि प्रधानमन्त्रीबाटै लिखित निर्देशन आवश्यक पर्ने सुझाव दिएको बताइएको छ ।
अब एमालेको भ्रातृ संगठनले दिएको यो जाहेरीलाई प्रहरीले कसरी लिन्छ भन्ने विषयले देशभरको राजनीतिक तनाव र जेनजी आन्दोलनको भावी दिशालाई प्रभाव पार्ने देखिन्छ।

 


सम्बन्धित समाचार