२१ असोज,वीरगञ्ज । करिब डेढ महिनादेखि वीरगञ्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि सरकारले विदेशबाट १० लाख १८ हजार १ सय मात्रा हैजा विरुद्धको खोप ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाका खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिएका छन्।
डा. गौतमका अनुसार, अर्को हप्तादेखि पर्सा र बारा जिल्लाका हैजा प्रभावित स्थानीय तहमा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिनेछ। मुखबाट सेवन गरिने (ओरल) यो खोपको एक डोजले महामारी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।
खोप एक वर्षमाथिका सबै व्यक्तिलाई दिइनेछ, तर उच्च सङ्क्रमण भएका, अस्पतालमा उपचाररत, ज्वरो वा झाडापखाला भएका बिरामीले भने यो खोप लिन नपाउने चिकित्सकहरूको सुझाव छ।
खोप विद्यालय, कलेज, कार्यालय, घरदैलो र स्वास्थ्य संस्थाहरू मार्फत निशुल्क उपलब्ध गराइनेछ। सरकारले खरिद नगरी अन्तर्राष्ट्रिय समन्वय समूह (ICG) बाट अनुदानमा प्राप्त गरेको यो खोपमा गाभी, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीजको महासंघजस्ता संस्था संलग्न छन्।
वीरगञ्जसहित पर्सामा फैलिएको हैजाको प्रकोप अझै पनि छिटफुट रुपमा जारी छ। स्वास्थ्य मन्त्रालयले दूषित पानी र खानाबाट रोग फैलिने भए पनि पानीमा हैजाको ब्याक्टेरिया पत्ता लगाउन समस्या भइरहेको जनाएको छ।
नारायणी अस्पतालका प्रमुख डा. चुमनलाल दासका अनुसार, हालै पनि अस्पतालमा दैनिक ४–५ जना झाडापखालाका बिरामी उपचारका लागि आउँछन्।
सरकारको खोप अभियानले हैजा नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

















