Logo

२२ असोज, सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका–५ भाडसरस्थित लखन्देही नदीमा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृतक १८ वर्षीय ओम ठाकुर रहेका छन् । ठाकुर मंगलबार दिउँसो आफ्ना साथीसहित नुहाउन नदीमा गएका बेला यो दुर्घटना भएको हो ।

प्रहरीका अनुसार ठाकुरसहित चार जना नदीमा नुहाउन गएका थिए, तर तीव्र बहावका कारण सबैलाई खोलाले बगाएको थियो । तिन जना युवाले पौडिएर आफूलाई जोगाउन सफल भए पनि ठाकुर भने बेपत्ता भएका थिए ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले केही समयको खोजीपछि ठाकुरलाई खोलामा तैरिरहेको अवस्थामा फेला पारेर उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

प्रहरीका अनुसार नदीमा हालको वर्षाका कारण पानीको बहाव तीव्र रहेको र त्यही कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार