२ असोज, काठमाडौं । यस वर्षको भीषण मनसुनजन्य विपदले मुलुकको यातायात सञ्जालमा ठूलो क्षति पुर्याएको छ ।
बाढी, पहिरो र खसेका ढुङ्गा माटोले क्षतविक्षत बनेका सडक संरचनाहरूको पुनर्निर्माण र मर्मतसम्भारका लागि सरकारले झण्डै १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार, यो विशाल रकम चालु वर्षको विपद्बाट क्षति भएका मुख्य राजमार्ग, वैकल्पिक सडक, पुल र बेलिब्रिज पुनर्निर्माणमा मात्रै १० अर्ब ६८ करोड रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ । योबाहेक गत वर्षको विपद्बाट बाँकी रहेका संरचनाहरूको मर्मतमा पनि १ अर्ब ७० करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।
कुन सडकमा कति क्षति?
मनसुनले सबैभन्दा बढी प्रहार गरेको मेची राजमार्ग हो, जसको पुनर्निर्माणमा मात्रै डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। अन्य प्रमुख राजमार्गहरू जस्तै कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति र अत्यावश्यक नारायणघाट–मुग्लिङ खण्डलगायतका सडकको मर्मतमा करिब ३ अर्ब ७७ करोड रुपैयाँ खर्च हुनेछ।
सरकारलाई क्षतिग्रस्त भौतिक संरचनालाई जोड्न र सडक सञ्चालन सहज बनाउनु ठूलो चुनौती बनेको छ। १७ वटा स्थायी पुलको पुनःनिर्माणमा ४ अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । तत्काल सडक सञ्चालन गर्न राख्नुपर्ने बेलिब्रिजका लागि ८० करोड रुपैयाँ छुट्याइएको छ । वैकल्पिक सडकहरूको मर्मतमा १ अर्ब ५९ करोड रुपैयाँ लाग्नेछ ।
मन्त्री घिसिङको प्रतिबद्धताः सडक सञ्चालन उच्च प्राथमिकतामा
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले अवरुद्ध भएका सडकहरूलाई उच्च प्राथमिकताका साथ जतिसक्दो छिटो सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिइएको बताउनुभएको छ । ‘अवरुद्ध सडक सञ्चालनका लागि उपकरण र जनशक्ति परिचालन गरिएको छ’ मन्त्री घिसिङले भन्नुभयो, ‘कामको प्रगति म एवम् मन्त्रालयका तर्फबाट नियमित र गम्भीर अनुगमन भइरहेको छ।
विपद्ले पुर्याएको यो ठूलो क्षतिले देशको आर्थिक गतिविधि र दैनिक जनजीवनमा नकारात्मक असर पारेको छ। द्रुत गतिमा पुनर्निर्माण सम्पन्न गर्नु सरकारका लागि आगामी दिनको एक महत्त्वपूर्ण कार्यभार बनेको छ।















