Logo

२२ असोज, काठमाडौं । साइबर अपराधको कसुरमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले बुधबार प्रहरीको केन्द्रीय साइबर ब्युरोमा उपस्थित भई डेढ घण्टा लामो लिखित बयान दिएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको स्पष्ट निर्देशनपछि ब्युरोले बस्नेतलाई बयानका लागि बोलाएको थियो । ब्युरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले दिएको जानकारी अनुसार, बस्नेत बुधबार बिहान ब्युरोको भोटाहिटीस्थित कार्यालयमा हाजिर भएर बयान दिएर भर्खरै निस्किएका छन्। ‘सरकारी वकिल कार्यालयको निर्देशनअनुसारको काम भएको छ,’ अवस्थीले बताए ।

सरकारी वकिलको प्रश्न, बस्नेतको इन्कारी बयान

ब्युरो स्रोतका अनुसार, बस्नेतले सरकारी वकिल कार्यालयले नै तयार पारेका प्रश्नहरूको लिखित जवाफ दिएका थिए। चासोको कुरा, बस्नेतले आफूमाथि लागेको आरोपमा इन्कारी बयान दिएका छन् । शोभा पाठकले दर्ता गरेको उजुरीमाथि अनुसन्धान सुस्त भएपछि सरकारी वकिल कार्यालयले प्रहरीलाई अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो ।

ब्युरो स्रोतले जनाएअनुसार, सरकारी वकिल कार्यालयबाट प्राप्त तीनवटा मुख्य टास्क मध्ये बस्नेतको बयान लिने काम सम्पन्न भएको छ। बाँकी दुईवटा काम सकिएपछि ब्युरोले यो विषयको पूर्ण प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गर्नेछ । राजनीतिक नेतृत्वमाथि लागेको यो संवेदनशील साइबर अपराधको आरोपको अनुसन्धान अब कुन दिशामा अघि बढ्छ, त्यो प्रतिक्षणीय छ।


सम्बन्धित समाचार
भर्खरै