२२ असोज, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको प्रत्यक्ष योजनामा आफूसहित पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गर्ने षड्यन्त्र भइरहेको गम्भीर आरोप लगाएका छन् ।
पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले ‘हामी नेपाल’ का संयोजक सुधन गुरुङलाई बालेनको एजेन्टका रूपमा प्रयोग गरिएको दाबी गरे। उनले भने, ‘हामीलाई पक्राउ गर्नुपर्छ भनेर सोसल मिडियामा ट्रेन्ड चलाउने र प्रधानमन्त्री तथा गृहमन्त्रीको सल्लाहमा डेलिगेसन जाने काम भइरहेको छ’ उनले सुधन गुरुङलाई त विदेशी एजेन्टको रूपमा प्रयोग गरी सरकारी उच्चस्तरीय बैठकमा समेत पठाएको दाबी गरे।
‘हुँदै नभएको मुद्दा सिर्जना गरियो’
बस्नेतले आफूलाई फूलपातीको दिनदेखि नै पक्राउ गर्ने प्रयास भइरहेको बताए। उनले भने, ‘हुँदै नभएको मुद्दा सिर्जना गरेर, पात्रहरू खडा गरेर, गिरफ्तार गर्ने प्रयास भयो, अदालतले सरकारको त्यो षड्यन्त्रलाई स्वीकार गरेन’ उनले हिजोमात्रै पक्राउ पुर्जी जारी गर्न दलबलसहित गएको प्रहरीलाई अदालतले फिर्ता गरिदिएको जिकिर गरे । पाँच महिनाअघि प्रमाण नपुगेर तामेलीमा राखिएको मुद्दा अहिले दबाबमा खोलिएको भन्दै उनले यो आफ्नो आवाज थुन्नको लागि गरिएको षड्यन्त्र भएको बताए । उनले आजमात्रै साइबर ब्युरोमा बयान दिएर आएको जानकारी गराए ।
रविलाई भेट्ने नेताहरूमाथि पनि छानबिनको माग
बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको निष्पक्ष छानबिन हुनुपर्ने माग दोहोर्याए। साथै, उनले हालै रवि लामिछानेलाई जेलबाट छुटाउन नख्खु कारागार पुगेका रास्वपाका नेता डिपी अर्याल, मनिष झा, ज्वाला संग्रौलालगायत व्यक्तिहरूमाथि पनि छानबिन गर्न माग गरे । बस्नेतले आफू कहीँ नभाग्ने र ‘मलाई समातेर देखाउनुस् । लोकतन्त्र, राष्ट्रियता र विधिको शासनको लागि सयौँ पटक जेल जान तयार छु’ भन्दै चुनौती दिए ।















