२२ असोज,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज राजीनामा दिने तयारी गरेका छन्। साँझ ४ बजे बस्ने मन्त्रीपरिषद् (क्याबिनेट) बैठकपछि उनले औपचारिक रूपमा पदत्याग गर्ने जनाइएको छ।
मुख्यमन्त्री सिंह नेतृत्वको सरकार नेकपा (एमाले) को समर्थनमा टिकेको थियो। तर, एमालेले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परिणत भएको हो। यसै कारण राजीनामाको तयारी थालिएको स्रोतहरूले जनाएका छन्।
नेकपा एमालेले बुधबार मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि सत्ता समीकरणमा नयाँ हलचल सुरु भएको छ। एमालेले नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदहरूसँग छलफल सुरु गरेको जनाएको छ।
एमाले नेतृत्वको वैकल्पिक सरकार गठनका लागि आवश्यक बहुमत सुनिश्चित गर्न दलहरूबीच सक्रिय राजनीतिक संवाद भइरहेका छन्। आगामी केही दिनभित्रै नयाँ सत्ता गठबन्धनबारे स्पष्टता आउने सम्भावना रहेको बताइएको छ।















