२२ असोज,वीरगञ्ज । आउँदो फागुन २१ गते हुने निर्वाचनको तयारीस्वरूप पर्सा जिल्लामा मतदाता नामावली अद्यावधिक कार्य तीव्र गतिमा भइरहेको छ।असोज १० गतेदेखि सुरु भएको दर्ता प्रक्रियामा असोज २२ गते सम्म सार्वजनिक बिदा बाहेक जम्मा ५ दिनमा ६२३ जना नयाँ मतदाताले आफ्नो नाम दर्ता गराएका छन्।
जिल्ला निर्वाचन कार्यालय, पर्साका अनुसार नयाँ मतदाता बनाउने क्रममा ४२८ जना पुरुष र १९५ जना महिला रहेका छन्। यसबाहेक ४२ जनाले आफ्नो नाम सार्ने (ट्रान्सफर) प्रक्रिया पुरा गरेका छन् भने ४४ जनाले नाम, उमेर वा अन्य विवरणमा सच्याउने काम गराएका छन्।
मतदाता संख्या ३.५७ लाख नाघ्यो
हालसम्म पर्सा जिल्लामा कुल मतदाता संख्या ३ लाख ५७ हजार २ सय ३८ पुगेको छ। तीमध्ये २ लाख १ हजार ७ सय ६५ जना पुरुष र १ लाख ५५ हजार ४ सय ८९ जना महिला मतदाता रहेका छन्। निर्वाचन कार्यालयले जनसंख्याको वृद्धिसँगै आगामी निर्वाचनका लागि अद्यावधिक नामावली तयार पार्ने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ।
निर्वाचन कार्यालयले जनसेवाको दायरा बढाउँदै नियमित समय बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सेवा दिँदै आएको छ। सेवाग्राहीको चाप अत्यधिक रहेकाले आवश्यकताअनुसार बेलुका ७ बजेसम्म सेवा विस्तार गरिएको पनि कार्यालयले जनाएको छ। कार्यालयका अनुसार प्रत्येक दिन करिब १०० जना सेवाग्राहीले मतदाता नामावलीसम्बन्धी सेवा लिइरहेका छन्।
दर्ताका लागि अनिवार्य कागजातहरू
नयाँ मतदाता दर्ता गर्न चाहने नागरिकले अनलाइन फारम भरेर निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्नेछ। नाम दर्ता गर्न सकल नागरिकता प्रमाणपत्र र सोको प्रतिलिपि अनिवार्य छ। यस्तै, नाम सार्न चाहने व्यक्तिले बसाइँसराइ प्रमाणपत्र पनि साथमा ल्याउनुपर्ने बताइएको छ।
जिल्ला निर्वाचन अधिकृत अनामिका रौनियारका अनुसार, “मतदाता नामावली अद्यावधिक कार्यमा नागरिकहरूको सहभागिता उत्साहजनक छ। समयमै सबैको विवरण समेट्न हामी पूर्ण रूपमा तत्पर छौं,” उनले भनिन्।

















