२२ असोज, विराटनगर । केही दिनअघिको विनाशकारी बाढीपहिरोबाट ठूलो क्षति भोगेका कोशी प्रदेशका पीडितहरूलाई प्रदेश सरकारले ठूलो राहत दिने भएको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले बाढीपहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने महत्त्वपूर्ण निर्णय गरेको छ । क्षतिग्रस्त घरहरूको सम्पूर्ण विवरण सङ्कलन कार्य र निर्माण कार्य एकसाथ अगाडि बढाउने निर्णय परिषद् बैठकले गरेको छ। सबैभन्दा बढी क्षति भएका इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गरिनेछ।
इलामका ७ पालिकालाई ‘सङ्कटग्रस्त’ घोषणाको सिफारिस
विपद्ले इलाम जिल्लामा पारेको गम्भीर प्रभावलाई ध्यानमा राख्दै परिषद् बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई ुसङ्कटग्रस्तु घोषणा गर्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। पुनर्निर्माण र राहत कार्यलाई तीव्रता दिन मन्त्रीहरूलाई जिल्लागत जिम्मेवारी तोकिएको छ । उक्त टोलीले स्थलगत निरीक्षण गर्दै पुनर्निर्माणको कामलाई फिल्डमै खटेर तीव्रता दिनेछन्।
पुनर्निर्माणका लागि बजेट कटौती
राहत र पुनर्स्थापना कार्यमा आवश्यक पर्ने स्रोत जुटाउनका लागि परिषद् बैठकले चालु बजेटका अनावश्यक खर्च र योजनाहरू कटौती गरी पुनर्निर्माणमा खर्च गर्न कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कार्कीले पुनर्निर्माण र राहतमा कुनै कसर नराखी तत्काल काम अगाडि बढाउन निर्देशन दिएका छन्। भौतिक पूर्वाधार मन्त्रालयलाई पनि तत्कालै सबै बाटोहरू खुलाउन आफ्ना संयन्त्र परिचालन गर्न भनिएको छ।















