Logo

२२ असोज, काठमाडौं । नेपालका ३० जना प्रबुद्ध नागरिक अगुवाहरूले देशको वर्तमान राजनीतिक अवस्थाको नैतिक जिम्मेवारी लिँदै प्रमुख तीन दलका शीर्ष नेताहरूलाई राजीनामा दिएर स्वेच्छिक अवकाश लिन कडा अपिल गरेका छन् ।

नागरिक अगुवाहरूले संयुक्त अपिल जारी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् ।

लोकतन्त्र र दलीय प्रणालीका लागि अवकाश अपरिहार्य

उनीहरूले शीर्ष नेताहरूको अवकाश केवल दल विशेषको औचित्यका लागि मात्र नभई लोकतन्त्र र दलीय प्रणालीको भविष्यका लागि अपरिहार्य भएको तर्क गरेका छन् । अपिलमा भनिएको छ, ‘विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको मूल नेतृत्वले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वेच्छिक अवकाश लिनुपर्छ।’ यसले दल र दलको नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउन सहयोग पुग्ने उनीहरूको भनाइ छ।

निर्वाचनमा सहभागी हुन आग्रह

नागरिक अगुवाहरूले नेताहरूको राजीनामाको मागसँगै आसन्न फागुन २१ गतेको निर्वाचनमा कुनै यदि वा तरु नगरी सहभागी हुन सबै दलहरूलाई आग्रह गरेका छन् । साथै, उनीहरूले अन्तरिम सरकारलाई पनि निर्वाचनका लागि अनुकूल र विश्वासनीय वातावरण सिर्जना गर्नतर्फ गम्भीर हुन सुझाव दिएका छन् ।

विज्ञप्ति जारी गर्ने अगुवाहरूमा केदारभक्त माथेमा, खगेन्द्र संग्रौला, भोजराज पोखरेल, तारानाथ दाहाल, चरण प्रसाईं, झलक सुवेदी, चन्द्रकिशोर, दिनेश त्रिपाठी लगायत ३० जना समावेश छन् ।


सम्बन्धित समाचार
भर्खरै