Logo

२३ असोज, काठमाडौँ । भारतमा उत्पादित खोकीको औषधि (कफ सिरप) सेवनबाट हालसम्म कम्तीमा २० बालबालिकाको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुने बालबालिकाको उमेर दुईदेखि अढाइ वर्षबीचका छन् ।

भारतको मध्य प्रदेशमा रहेका विभिन्न सहरहरू-छिन्दवाडामा १७, पन्धुर्णामा १ र बैतुलमा २ बालबालिकाको मृत्यु भएको पुष्टि गरिएको छ। यस्तै नागपुरमा पाँच बालबालिका गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् ।

मृत्युका कारण बनेको उक्त सिरप भारतीय कम्पनी स्रेसन फार्माले उत्पादन गरेको हो । उक्त कफ सिरपको एक ब्याचमा अत्यधिक मात्रामा विषाक्त रसायन डाइथाइलिन ग्लाइकोल भेटिएको भारतीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । परीक्षणमा सिरपमा ४८.६ प्रतिशतसम्म डाइथाइलिन ग्लाइकोल पाइएको थियो, जबकि यसको सुरक्षित मात्रा एक प्रतिशतभन्दा कम हुनुपर्ने हुन्छ ।

यो रसायन सामान्यतया औद्योगिक घोलकमा प्रयोग गरिन्छ र थोरै मात्रामा पनि सेवन हुँदा मिर्गौलामा असर पार्दै घातक बन्न सक्छ ।

सन् २०२३ पछि पनि दोहोरिँदै कफ सिरपकाण्ड

भारतमा कफ सिरपका कारण बालबालिकाको मृत्यु पहिलो पटक होइन । तीन वर्षअघि भारतीय कम्पनी मेइडन फर्मास्युटिकल्सले उत्पादन गरेको कफ सिरपका कारण उज्वेकिस्तानमा १९ र द गाम्बियामा ७० बालबालिकाको मृत्यु भएको थियो। त्यसपछि पनि भारतमा औषधिको गुणस्तरमाथि प्रश्न उठ्दै आएको छ ।

हालैको घटनापछि भारत सरकारले चार वर्ष मुनिका बालबालिकालाई कफ सिरप नदिन अभिभावकलाई अनुरोध गरेको छ । भारत विश्वकै तेस्रो ठूलो औषधि निर्यातक देश हो तर राज्यस्तरमा कमजोर नियमन, साना कम्पनीहरूको अपर्याप्त परीक्षण र अनुगमनको अभावले यस्ता घटना दोहोरिँदै आएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

नेपालमा गुणस्तर परीक्षण कडा

नेपालमा पनि भारतबाट आयात हुने कफ सिरपका कारण स्वास्थ्य जोखिम बढ्ने चिन्ता व्यक्त भइरहेको छ । तर, हालसम्म भारतमा विषाक्त भेटिएका सिरप नेपालमा आयात नभएको औषधि व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक नारायण ढकालका अनुसार नेपालमा औषधिको गुणस्तर सुनिश्चित गर्न कच्चा पदार्थदेखि अन्तिम उत्पादनसम्म विभिन्न चरणमा अनिवार्य प्रयोगशाला परीक्षण गरिन्छ ।

‘नेपालमा उत्पादन र आयात दुवै औषधिमा डाइथाइलिन ग्लाइकोल र इथाइलिन ग्लाइकोलजस्ता विषाक्त पदार्थ नभएको प्रमाणपत्र (Certificate of Analysis) अनिवार्य गरिएको छ,’ ढकालले बताए ।

उनका अनुसार औपचारिक रूपमा दर्ता भई आयात हुने औषधिमा गल्ती हुने सम्भावना न्यून भए पनि खुला सिमानाका कारण गैरकानुनी बाटोबाट यस्ता औषधि भित्रिन सक्ने जोखिम रहन्छ ।

विभागले त्यसका लागि दुईवटा उपाय अवलम्बन गरेको छ – (१) आयात हुने औषधिको कडा निरीक्षण र निगरानी, र (२) बजारमा रहेका औषधिको जोखिम-आधारित नमुना परीक्षण ।

‘नेपालका कफ सिरप सुरक्षित छन्’ : उत्पादक संघ

नेपालमा प्रयोगमा रहेका करिब आधा कफ सिरप स्वदेशमै उत्पादन हुने गरेका छन् । नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव सापकोटाका अनुसार नेपालमा करिब ३० कम्पनीले कफ सिरप उत्पादन गर्छन् र ती सबै उत्पादन विभागको परीक्षण प्रक्रिया पूरा गरेपछि मात्र बजारमा पठाइन्छ ।

‘हामीले दुई वर्षअघि नै कफ सिरपको फर्मुलेसन र परीक्षण विधि सुधार गरेका छौं,’ सापकोटाले भने, ‘नेपालमा उत्पादित सिरपहरूमा विषाक्त रसायन नहुने सुनिश्चित गरेर मात्र बिक्री वितरण गर्न दिइन्छ।’

उनले आयातित सिरपमा देखिएका समस्यालाई ध्यानमा राख्दै सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु पर्ने सुझाव पनि दिएका छन् ।

चिकित्सकको चेतावनी : ‘कफ सिरप बालबालिकाका लागि हानिकारक हुन सक्छ’

वरिष्ठ बालरोग विशेषज्ञ डा. गणेश राईका अनुसार नेपालमा पनि बालबालिकामा खोकी हुँदा अभिभावकहरूले चिकित्सकको सल्लाहविना नै कफ सिरप खुवाउने प्रवृत्ति अत्यधिक छ ।

‘धेरैजसो बालबालिकामा हुने खोकी एलर्जीका कारण हुन्छ, जसका लागि सिरप आवश्यक पर्दैन,’ डा. राईले बताए, ‘कफ सिरपमा विभिन्न तत्व मिसाइएका हुन्छन्, जसले स-साना बालबालिकाको मुटु, मिर्गौला र श्वासनलीमा असर पार्न सक्छ ।’

उनका अनुसार यस्ता सिरपले साइड इफेक्टका रूपमा अत्यधिक निद्रा, मुटुको धड्कन बढ्ने, खाना अरुचि हुने, र श्वास फेर्ने नलीमा अवरोध हुने जस्ता समस्या ल्याउँछ ।

डा. राईले बालबालिकामा खोकी हुँदा औषधिको सट्टा मनतातो पानी, मह, तुलसी, अदुवा र बेसारजस्ता घरेलु उपचार उपयोगी हुने सुझाव दिएका छन् ।

भारतमा पछिल्लो समय दोहोरिँदै आएका कफ सिरपसम्बन्धी दुर्घटनाले दक्षिण एसियाली मुलुकहरूमा औषधि गुणस्तर नियमन प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता पुनः देखाएको छ । नेपालले यस्ता जोखिमलाई ध्यानमा राख्दै निगरानी र परीक्षण प्रक्रिया कडा पारेको छ ।

तर, चिकित्सकहरूको सुझाव छ – ‘औषधिको प्रयोगभन्दा पहिला सल्लाह लिनु र चिकित्सकको सिफारिसविना बालबालिकालाई कुनै पनि कफ सिरप नदिनु नै सबैभन्दा सुरक्षित उपाय हो ।’


सम्बन्धित समाचार