२३ असोज, काठमाडौं । लगातारको वर्षा र बाढीपहिरोले क्षतविक्षत भएको बीपी राजमार्गको मर्मत कार्यलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ आफैं फिल्डमा उत्रिएका छन् ।
गत असोज १७, १८ र १९ गतेको भीषण वर्षाले काभ्रेको यो लाइफलाइन सडकका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएपछि यातायात अवरुद्ध भएको छ । मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकसहितको टोली लिएर प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । उनले रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको सिमाना चौकीडाँडाबाट मर्मत कार्यको निरीक्षण गरेर फर्किएका छन्।
शुक्रबारसम्म ‘ट्र्याक ओपन’ को कडा निर्देशन
अनुगमनका क्रममा मन्त्री घिसिङले सडक खुलाउनका लागि समयसीमा तोकेका छन्। उनले असोज २४ गते साँझसम्म ट्र्याक खोलिसक्ने गरी युद्धस्तरमा काम गर्न निर्देशन दिएका छन् । स्थानीय तहका प्रमुखहरूले मन्त्रीलाई बाढीपहिरोले निम्त्याएको सास्तीबारे जानकारी गराएका छन् । नमोबुद्धका मेयर कुन्साङ लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा र महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बाटो भत्किँदा सर्वसाधारणले भोगेको अत्यासलाग्दो कठिनाइबारे ब्रिफिङ गरेका थिए ।
भिरको बाटोः सर्वसाधारणको जोखिमपूर्ण यात्रा
बाटो भत्किएका कारण कतिपय ठाउँमा पैदल हिँड्न पनि बाटो छैन । मानिसहरू ज्यान जोखिममा राखेर भिरको पहरो समाउँदै हिँडिरहेका तस्बिर र भिडियोहरू हालै सार्वजनिक भएका थिए । यसले आम नागरिकले भोग्नुपरेको असहनीय सास्ती प्रस्ट पारेको छ । यसैबीच, गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गका ३ स्थानमा डाइभर्सन भने निर्माण भइसकेको छ, जसले गर्दा तत्कालका लागि यातायातलाई केही सहजता मिल्ने अपेक्षा गरिएको छ।















