२३ असोज,वीरगञ्ज । सरकारले बारा र पर्सा जिल्लामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन (WHO) र युनिसेफको प्राविधिक सहयोगमा अभियान यही असोज महिनादेखि कात्तिक महिनाभित्र सञ्चालन गरिने भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार, पर्सा जिल्लाका सबै १४ वटा स्थानीय तहहरूमा र बारा जिल्लाका ६ वटा स्थानीय तहमा एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई यो खोप दिइनेछ।
गत भदौ ६ गते पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुरली टोलबाट हैजा देखिन थालेपछि रोगले तीव्ररूप लिँदै गएको थियो। हालसम्म पर्सा र बारा जिल्लामा गरी १,६८५ जना हैजाका बिरामी फेला परेका छन्।
सरकारले हैजाको संक्रमण फैलिन नदिन र सार्वजनिक स्वास्थ्य सुरक्षालाई मजबुत बनाउन यो खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
खोप मुखमार्फत दिइनेछ र एक मात्र मात्रा पर्याप्त हुने जनाइएको छ। यसअघि पनि काठमाडौं उपत्यका र कपिलवस्तु जिल्लामा हैजाविरुद्ध यस्तै खोप अभियान सञ्चालन भइसकेको थियो।
स्वास्थ्य मन्त्रालयले खोप अभियानमा समुदायको सक्रिय सहभागिता र सहकार्यका लागि आग्रह गरेको छ।

















