Logo

२३ असोज,वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर, पर्साले चालु आर्थिक वर्ष २०८१/८२ को साउन र भदौ महिनामा भन्सार छलीका ६ करोड ६८ लाख ८१ हजार रुपैयाँ बराबरका विभिन्न किसिमका सामान बरामद गरेको छ।

सीमामा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले उक्त अवधिमा ४ करोड ३३ लाख ५७ हजार ५६८ रुपैयाँ बराबरका भन्सार छली गरेर ल्याइएका सामग्रीहरू वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको हो।

त्यस्तै, साउन र भदौमा नै बिलविजकभन्दा बढी परिमाणमा ल्याइएका २ करोड ३५ लाख २३ हजार ५८२ रुपैयाँ मूल्यका सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

पछिल्लो वर्षको तुलनामा भने यो वर्ष बरामद हुने सामानको परिमाण केही घटेको देखिन्छ। अघिल्लो आव २०८०/८१ को साउन र भदौमा सशस्त्र प्रहरीले ७ करोड १० लाख २१ हजार ८६१ रुपैयाँ बराबरका भन्सार छलीका सामान वीरगञ्ज भन्सारमा दाखिला गरेको थियो। त्यसैगरी, एक करोड ९२ लाख ५३ हजार ६८७ रुपैयाँ बराबरका बिलविजकभन्दा बढी परिमाणका सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको थियो।

सशस्त्र प्रहरी उपरीक्षक तथा गणपति पुरनचन्द्र भट्टले सीमा क्षेत्रमा कडाई गरेसँगै भन्सार छली र बिलविजकभन्दा बढी सामानको ओसारपसारमा कमी आएको बताए।

‘सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाई गरेपछि वीरगञ्ज भन्सारको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको छ,’ गणपति भट्टले भने, ‘भन्सार छलीका सामान बढी भित्रिन थालेमा राजस्व सङ्कलनमा कमी आउँछ।’

उनले पर्साको सीमावर्ती क्षेत्रमा सम्भावित अवैध चोरी पैठारी र निकासी नियन्त्रणका लागि सशस्त्र प्रहरीले आवश्यक रणनीति अनुसारको काम गरिरहेको जानकारी दिए।

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै ३९ अर्ब १५ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ।


सम्बन्धित समाचार
भर्खरै