२३ असोज, भक्तपुर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्र निर्माण कुनै एक पुस्ताको मात्रै विषय नभएको बताएका छन्। भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुस्ताबीचको समन्वय र सहकार्यबिना मुलुक निर्माणको प्रक्रिया सफल नहुने स्पष्ट पारे।
उनले भने, “राष्ट्र निर्माण एउटा पुस्ताको मात्रै विषय हुन सक्दैन। ४७ सालमा ४० वर्ष नपुगेका मदन भण्डारीले ७० वर्ष पुग्न लागेका मनमोहन अधिकारीलाई मिलाएर महासचिव बने। एमाले बन्यो। त्यसैले राष्ट्र निर्माण अनेक पुस्ताको संयोजनको विषय हो। पुस्ता विभाजन गर्ने पश्चिमा रणनीति हो।”
हालैको जेनजी आन्दोलनप्रति संकेत गर्दै पोखरेलले सामाजिक सञ्जालमा ३४ प्रतिशत फेक एकाउन्टको प्रयोग पुष्टि भएको दाबी गरे। “जेनजी आन्दोलनका क्रममा ३४ प्रतिशत फेक एकाउन्ट खोलिएको पुष्टि भइसकेको छ। यसलाई गम्भीर रूपमा लिनुपर्छ। युवा पुस्तालाई गलत दिशातर्फ मोड्न खोजिएको देखिन्छ,” उनले आरोप लगाए।
उनले आन्दोलनमा उठाइएका सामाजिक सञ्जाल खुला गर्नुपर्ने र भ्रष्टाचार अन्त्य गर्नुपर्ने मागप्रति असहमति नभएको बताए। “यी माग स्वाभाविक हुन्। सरकारले नियमन गर्न खोजेको हो, प्रतिबन्ध लगाउन भने खोजेको थिएन,” पोखरेलले स्पष्ट पारे।
असोज २३ गतेको घटनालाई लिएर उनले सुरक्षा निकायहरू नै चकित परेको बताए। “२३ गतेको घटना हामीलाई पनि अस्वाभाविक लाग्यो। प्रहरी हाकिमहरू नै छक्क परे। स्कुलका केटाकेटीमाथि जसरी प्रहार गरियो, त्यो सामान्य होइन,” उनले भने।
सरकारमाथि कटाक्ष गर्दै पोखरेलले अहिलेको सत्ता स्टन्ट मात्रै गरिरहेको आरोप लगाए। “शान्ति सुरक्षाको प्रत्याभूति गराउने भन्दै सरकार अर्कै दिशामा ध्यान केन्द्रित गर्दैछ। लुटिएका हतियार फिर्ता गराउने तिर गृहमन्त्रीको ध्यान छैन। भागेका अपराधीहरू समाजमै घुमिरहेका छन् भने नागरिक कसरी सुरक्षित महसुस गर्ने?” पोखरेलले प्रश्न गरे।
उनले राष्ट्र निर्माणका सवालमा सबै पुस्ताबीच समन्वय र विश्वास कायम गर्नुपर्नेमा जोड दिए।















