२३ असोज, भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाल देशमा संवैधानिक प्रक्रिया विपरीत बलमिच्याइँको आधारमा सरकार सञ्चालन भइरहेको आरोप लगाएका छन्।
भक्तपुरमा आयोजित एमालेको एक कार्यक्रममा बिहीबार बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकार गठन प्रक्रियामै असंवैधानिक तत्व रहेको दाबी गरे।
उनले भने, “अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्न सर्त राख्नुभएको थियो— संसद तुरुन्तै भंग गर्न सिफारिस गर्छु, त्यो लागू गर्ने हो भने मात्रै प्रधानमन्त्री बन्छु, नत्र देशमा जेनजीले आगो बाल्छ।”
ओलीले लोकतान्त्रिक प्रणालीमाथि कुठाराघात गर्ने काम भइरहेको बताउँदै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई पनि आलोचना गरे। “लोकतन्त्रको जग भत्काउने जगमा सुशीला कार्की प्रधानमन्त्री भएकी हुन्,” उनले आरोप लगाए।
उनले अहिलेको सत्ता अभ्यास न त जनताको मतअनुसार बनेको, न त संविधानको मर्मअनुसार सञ्चालन भएको जिकिर गरे। ओलीले संविधानको रक्षा र लोकतान्त्रिक मूल्य–मान्यताका पक्षमा एमाले उभिने स्पष्ट सन्देश पनि दिए।