२३ असोज, काठमाडौं । प्रतिनिधिसभा विघटनको अवस्थामा रहेको वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रिय सभाको अधिवेशन तिहार र छठ पर्वलगत्तै बोलाउने तयारी गरिएको छ ।
अधिवेशन सञ्चालन गर्नका लागि सिंहदरबारभित्रै रहेको पुरानो राष्ट्रिय सभाको सभाकक्षलाई व्यवस्थापन गर्ने काम सुरु भएको छ। संसद सचिवालयका सहसचिव सीता काफ्ले वाग्लेका अनुसार, यसअघि राष्ट्रिय सभाको रूपमा प्रयोग भई हाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलका रूपमा रहेको सभाकक्षलाई नै पुनः राष्ट्रिय सभाको अधिवेशनका लागि तयार गरिँदैछ ।
शहरी विकास मन्त्रालयको टोलीले निरीक्षण गरेपछि सो हलमा अगाडिको ड्यास र दर्शकदिर्घा निर्माण गर्नेलगायत आवश्यक व्यवस्थापनको काम भइरहेको छ । यो सम्पूर्ण व्यवस्थापनको काम सरकारको समन्वयमा अगाडि बढेको सहसचिव वाग्लेले जानकारी दिइन् ।
अधिवेशनमा के–के हुन्छन् छलफल?
राष्ट्रिय सभाको मात्रै अधिवेशन बोलाउन सक्ने संवैधानिक प्रावधानको उपयोग गर्दै यो अधिवेशन बोलाउन लागिएको हो । अधिवेशन बसेपछि सांसदहरूले मुख्यगरी संकल्प प्रस्ताव, जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्तावबारे छलफल गर्नेछन् ।
राष्ट्रिय सभामै उत्पत्ति भएर विचाराधीन रहेका विधेयकहरूमाथि छलफल भई पारित गर्न सकिनेछ। यी विधेयकहरू प्रतिनिधिसभाको निर्वाचनपछि पठाइनेछ । दुवै सभाबाट पारित भएपछि मात्र विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएर ऐन बन्ने प्रक्रिया पूरा हुन्छ।















