२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको महत्वपूर्ण बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।
सभापति शेरबहादुर देउवा अनुपस्थित रहेपछि बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका छन् । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, जारी बैठकमा आगामी केन्द्रीय समितिको एजेन्डाबारे मुख्य रूपमा छलफल हुनेछ। पार्टीमा अहिले नेतृत्व परिवर्तन, महाधिवेशन तयारी, निर्वाचन लगायतका विषयमा व्यापक बहस भइरहेको छ । यो बैठकले असोज २६ गते बस्ने केन्द्रीय समितिका लागि स्पष्ट कार्यसूची तयार पार्ने अपेक्षा गरिएको छ ।















