Logo

२३ असोज, काठमाडौं । भारतको मध्य प्रदेशमा दूषित कफ सिरप सेवनका कारण कम्तीमा २० जना बालबालिकाको मृत्यु भएको घटनामा प्रहरीले कफ सिरप उत्पादन गर्ने कम्पनीका मालिकलाई पक्राउ गरेको छ।

मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्माका मालिक एस रंगनाथनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, स्रेसन फार्माले उत्पादन गरेको कोल्ड्रिफ नामक खोकीको सिरप दूषित पाइएको छ, जसको सेवनबाट छिन्दवाडा र वरपरका क्षेत्रमा बालबालिकाको ज्यान गएको थियो । छिन्दवाडा प्रहरी अधिकारी अजय पाण्डेले रंगनाथनको पक्राउ पुष्टि गरेका छन्। सेप्टेम्बर ७ देखि धेरै बालबालिकाको मृत्यु र मिर्गौला फेलको घटना बढ्न थालेपछि अक्टोबर ५ मा १२ सदस्यीय विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको थियो ।

अनुसन्धानका क्रममा यो सिरप तमिलनाडुको कांचीपुरम जिल्लामा रहेको स्रेसन फार्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको खुलेको थियो ।
तमिलनाडु औषधि नियन्त्रण विभागको एक प्रतिवेदनले यस सिरपको एक ब्याचमा ४८ दशमलव ६ प्रतिशत डाइथिलिन ग्लाइकोल नामक ‘विषाक्त’ रसायन रहेको पत्ता लगाएको छ। यो रसायनले यसअघि गाम्बिया, उज्बेकिस्तान र भारतका अन्य भागमा पनि बालबालिकाको मृत्यु गराएको इतिहास छ।

रिपोर्ट सार्वजनिक भएपछि मध्य प्रदेश औषधि नियन्त्रण विभागले अक्टोबर ४ मा उक्त खोकीको सिरपमाथि प्रतिबन्ध लगाएको थियो। प्रहरीले सिरप उत्पादक सञ्चालक, चिकित्सक प्रवीण सोनी र अन्य केही व्यक्तिविरुद्ध पनि एफआईआर दर्ता गरेको छ।


सम्बन्धित समाचार
भर्खरै