Logo

२५ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षा गर्न चुनाव नै एक मात्र विकल्प भएको भन्दै आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलहरूलाई केन्द्रित हुन आग्रह गरेका छन्।

शुक्रबार शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा राष्ट्रपतिले चुनावमार्फत जनताको विश्वास कायम राख्नु अहिलेको प्रमुख राष्ट्रिय आवश्यकता भएको बताउँदै शान्ति, सुरक्षा र निष्पक्ष वातावरण सुनिश्चित गर्न सरकारलाई जिम्मेवार रहन निर्देशन दिएका हुन्।

“लोकतान्त्रिक प्रणालीको बल र स्थायित्वको मूल आधार स्वतन्त्र र निष्पक्ष निर्वाचन हो। त्यसैले शान्ति–सुरक्षाको आवश्यक प्रबन्ध गरी नागरिकमा विश्वास जगाउने दायित्व सरकारको हो,” राष्ट्रपति पौडेलले बैठकमा भनेका थिए।

बैठकमा सहभागी दलका शीर्ष नेताहरूले पनि लोकतान्त्रिक अभ्यासमा आस्था राख्ने दलहरू चुनावमा जान सधैँ तयार रहेको बताउँदै हालको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुन सक्ने विषयमा शंका उत्पन्न भएको बताएका थिए। उनीहरूले यो शंका हटाएर निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास दिलाउन सरकार सक्षम हुनुपर्ने सुझाव दिएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले बैठकमा बोल्दै दलहरूको सहभागिताविना चुनाव सम्भव नहुने विषयमा सरकार प्रष्ट रहेको बताइन्। उनले सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन आवश्यक शान्ति–सुरक्षाको व्यवस्था गर्ने विश्वास दिलाइन्।

“परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ्ने समय आएको छ। लोकतान्त्रिक मूल्य र जनताको विश्वास कायम राख्न सबै दलको सहकार्य अपरिहार्य छ,” प्रधानमन्त्री कार्कीले भनिन्।

बैठकमा सहभागी मन्त्रीहरूसँगै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू उपस्थित थिए। नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुषाल लगायतका नेताहरू सहभागी थिए।

बैठकले आगामी प्रतिनिधिसभा निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक सहकार्य, सुरक्षा संयन्त्र सुदृढीकरण र जनविश्वास निर्माणका उपायहरूमा एकमत भएको बताइएको छ।


सम्बन्धित समाचार