Logo

२५ असोज,वीरगञ्ज । शिक्षक नियुक्तिका लागि सेवाग्राहीसँग ४ लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा रौतहटको जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साह कानु पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई वीरगन्ज महानगरपालिका–१३, अदालत रोडस्थित एक होटलबाट शुक्रबार रंगेहात पक्राउ गरेको हो।

आयोगका अनुसार प्रधानाध्यापक प्रसादले विद्यालयमा शिक्षक पदका लागि प्रकाशित विज्ञापनका आधारमा दरखास्त प्रक्रियालाई अगाडि बढाउने बहानामा सेवाग्राहीसँग घुस मागेका थिए। उनले बिचौलिया साहकानुको माध्यमबाट रकम संकलन गराइरहेका थिए।

सूचनाको आधारमा निगरानीमा रहेका बिचौलिया कानुलाई सेवाग्राहीबाट मागिएको सम्पूर्ण रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो। अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, दुवै जना हाल आयोगको हिरासतमा छन् र उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

अख्तियारले शिक्षाजस्तो संवेदनशील क्षेत्रमा हुने घुसप्रतिको कारबाहीलाई विशेष प्राथमिकतामा राख्दै आएको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै