२५ असोज,वीरगञ्ज। बाराको आदर्शकोतवाल गाउँपालिका–३ भटिनियाँमा सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको लाखौं रुपैयाँ बराबरको ‘नागिन’ पटाका बरामद गरी नष्ट गरेको छ।
सशस्त्र प्रहरी नायब निरीक्षक संजय यादवको नेतृत्वमा खटिएको पाँच सदस्यीय गस्ती टोलीले शुक्रबार भारततर्फबाट नेपाल भित्र्याइँदै गरेको अवस्थामा तीन वटा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लोड गरिएको पटाका फेला पारेको हो।
सशस्त्र प्रहरी बलका अनुसार बि.आर ०५ ए ६९८७, बि.आर २२ ए.जेड ७२० र बि.आर ०५ ए.के १३०४ नम्बरका तीनवटा मोटरसाइकलमा उक्त पटाका ल्याइएको थियो।
बरामद गरिएको पटाकाको मूल्य करिब रु. २ लाख ५ हजार र तीनवटा मोटरसाइकलको अनुमानित मूल्य रु. ३ लाख रहेको छ। यसअनुसार कुल रु. ५ लाख ५ हजार बराबरको सामग्री बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिए।
उनका अनुसार, बरामद गरिएको पटाका सशस्त्र प्रहरी बल नम्बर १२ गणको हेडक्वार्टर परिसरभित्र रहेको पोखरीमा सुरक्षित रूपमा नष्ट गरिएको हो।
दीपावली नजिकिँदै गर्दा अवैध पटाका व्यापार बढ्ने गरेको हुँदा सुरक्षा सतर्कता बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
















