२६ असोज, वीरगञ्ज । हैजाको संक्रमण देखिएको डेढ महिनापछि वीरगञ्ज महानगरपालिका सहित पर्सा जिल्लाका १४ वटै पालिकामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरु हुँदैछ ।
स्वास्थ्य कार्यालय पर्साले हैजाको महामारी नियन्त्रणका उद्देश्यले आज (आईतबार) देखि सुरु गरिएको प्रतिकार्य खोप अभियानबारे जानकारी दिन वीरगञ्जमा जिल्लास्तरीय सरोकारवालाको अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठन (WHO) नेपालका चिकित्सक डा. पवन उपाध्यायले विश्व स्वास्थ्य संगठन र स्वास्थ्य कार्यालय पर्साको समन्वयमा यो अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए। उनका अनुसार, कात्तिक २ गतेसम्म पर्साका सबै १४ वटै पालिकामा एकैसाथ खोप अभियान सञ्चालन हुनेछ ।
यसबाहेक बाराका कलैया र जीतपुरसिमरा उपमहानगरपालिका साथै परवानीपुर, प्रसौनी, फेटा र बिश्रामपुर गाउँपालिका गरी ६ पालिकामा पनि हैजाविरुद्धको खोप अभियान विस्तार गरिने उनले जानकारी दिए । परिवार कल्याण महाशाखाका अनुसार, यी पालिकाहरूमा खोप अभियान पर्सि (मंगलबार) देखि सञ्चालन गरिने भएको छ।
डा. उपाध्यायका अनुसार १ वर्षदेखि माथिका सबै व्यक्तिहरूले यो खोप लिन सक्ने छन्। मुखबाट सेवन गरिने यो खोप १ वर्षसम्म करिब ८० प्रतिशतसम्म प्रभावकारी हुने उनले दाबी गरे ।
स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार आज (आईतबार) जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी, उच्च पदस्थ सरकारी अधिकारी र सरोकारवालासहित करिब २५० जनाले खोप लिएर अभियानको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उनले पर्सा जिल्लामा ६ लाख ५२ हजार १ सय २९ जनालाई यो खोप दिने लक्ष्य रहेको जानकारी दिए । ठाकुरका अनुसार, तोकिएका खोप केन्द्रहरू र घरभेट कार्यक्रममार्फत पनि खोप वितरण हुनेछ ।
“यो खोप पूर्ण रूपमा सुरक्षित छ,” ठाकुरले भने, “भारतबाट नेपाल प्रवेश गर्नेहरू, अदालत तथा सरकारी कार्यालयका सेवा ग्राही, बसपार्कका यात्रुहरू लगायतलाई पनि खोप दिने लक्ष्य राखिएको छ ।”
स्वास्थ्य कार्यालयका तथ्यांकअनुसार, गत भदौ ५ गतेदेखि वीरगञ्जमा हैजाको संक्रमण देखिएको थियो। अहिलेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १ हजार ५ सय ६७ जना झाडापखाला तथा हैजाका बिरामी उपचारका लागि पुगेका छन् । तिनीहरूमध्ये २ सय २७ जनामा हैजा संक्रमण पुष्टि भएको छ । साथै पोखरिया नगरपालिकामा पनि १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
हालसम्म गरिएको परीक्षणमा वीरगञ्जका विभिन्न स्थानबाट संकलित पानीमा हैजाको जीवाणु भने फेला नपरेको कार्यालयले स्पष्ट गरेको छ ।
स्वास्थ्य अधिकारीहरूले खोप अभियानपछि जिल्लामा हैजाको संक्रमण दर घट्ने विश्वास व्यक्त गरेका छन् ।

















