Logo

२६ असोज, सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–२ स्थित कर्मन्या टोलमा एक व्यक्तिको गोली हानी हत्या भएको छ ।  स्थानीय ४७ वर्षीय दिनेश चौधरीको शनिबार साँझ गोली हानी हत्या भएको प्रहरीले जनाएको हो ।

इलाका प्रहरी कार्यालय दुहवीका अनुसार चौधरीलाई मोटरसाइकलमा आएका युवाहरूको समूहले लक्षित गरी गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गोली लागेर गम्भीर घाइते भएका चौधरीको केही बेरमै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार, चौधरी पेशाले सफारी गाडीका चालक थिए । उनी नियमित रूपमा उक्त सडक खण्ड हुँदै घर फर्किने क्रममा रहेकामा साँझतिर आएको एक समूहले नजिकैबाट गोली प्रहार गरेको बताइएको छ ।

घटनापछि आक्रमणकारीहरू मोटरसाइकलमै फरार भएका छन् । प्रहरी टोलीले घटनास्थलबाट एक थान खोका र रगतले माखिएको कपडा बरामद गरेको छ ।

सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन चापागाईंका अनुसार, “गोली प्रहारमा संलग्न समूहको पहिचानका लागि सीसीटीभी फुटेज संकलन र घटनास्थल वरपरका मानिसहरूसँग बयान लिइँदैछ।”

उनका अनुसार, प्रारम्भिक रूपमा यो घटना व्यक्तिगत द्वन्द्व वा पुरानो रिसको कारण भएको हुनसक्ने आशंका गरिएको छ। तर घटनाको प्रकृति हेर्दा योजनाबद्ध आक्रमण भएको पनि नकार्न नसकिने प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार