Logo

२६ असोज, काठमाडौं  । हमास र इजरायलबीच भएको युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत सोमबारदेखि बन्धक रिहा प्रक्रिया सुरु हुने भएको छ। यस क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको सूची सार्वजनिक गरिएको छ, जसमा नेपालका विपिन जोशी पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

टाइम्स अफ इजरायल, एसोसिएटेड प्रेस (एपी) लगायतका प्रमुख अन्तर्राष्ट्रिय सञ्जालहरूले प्रकाशित गरेको सूचीमा नेपाली विद्यार्थी जोशीको नाम उल्लेख गरिएको हो। यसअघि सीएनएनले विपिनसहित दुई जनाको अवस्थाबारे अनिश्चितता रहेको समाचार प्रकाशित गरेको थियो। तर हाल सार्वजनिक गरिएको नयाँ सूचीले उनी जीवित रहेको संकेत दिएको छ।

गत शुक्रबार भएको युद्धविराम सम्झौता अनुसार, सोमबारदेखि मंगलबारसम्म बन्धकहरू क्रमशः रिहा गरिने अपेक्षा गरिएको छ। सम्झौता अनुसार, हमासले २२ जना बन्धकहरू रिहा गर्नेछ, भने इजरायलले दुई हजार प्यालेस्टिनी कैदीहरू मुक्त गर्ने तयारी गरेको बताइएको छ।

यससँगै लामो समयदेखि बेपत्ता रहेका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित फिर्तीप्रति नेपालभर आशा र उत्साह बढेको छ। विदेश मन्त्रालयका एक उच्च अधिकारीले भने, “जोशीको नाम सूचीमा देखिनु सकारात्मक संकेत हो। युद्धविरामपछि बन्धक अदलाबदल प्रक्रिया सफल होस् भन्ने हाम्रो अपेक्षा छ।”

विपिन जोशीसहित २२ जीवित बन्धकको नाम 

गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ-चैम ओहाना, एलोन ओहेल, अविनाटन ओर, मातान जंगाउकर, र नेपालका विपिन जोशी।

नेपालको सुदूरपश्चिमबाट अध्ययनका लागि इजरायल पुगेका विपिन जोशी गत वर्ष अक्टोबरमा हमास आक्रमणपछि बेपत्ता भएका थिए। उनी इजरायलको दक्षिणी क्षेत्रमा अवस्थित कृषि फार्ममा कार्यरत रहेको र आक्रमणका क्रममा अन्य कामदारहरूसँगै अपहरणमा परेका थिए।

उनको अवस्थाबारे अहिलेसम्म ठ्याक्कै जानकारी नआए पनि, बन्धक सूचीमा नाम समावेश भएपछि जोशीको सुरक्षित फिर्तीको सम्भावना बलियो बनेको बताइएको छ।

नेपाल सरकारले जोशीको अवस्थाबारे लगातार इजरायली अधिकारीहरूसँग सम्पर्कमा रहेको बताएको छ। परराष्ट्र मन्त्रालयले हालसम्म प्राप्त सूचना सकारात्मक रहेको जनाउँदै बन्धक रिहा प्रक्रिया अघि बढेसँगै नेपालले आधिकारिक पुष्टिको प्रतीक्षा गरिरहेको जनाएको छ।

युद्धविराम सम्झौताको सफल कार्यान्वयनपछि यदि जोशी फिर्ता हुने सुनिश्चित भयो भने, यो गाजाबाट फर्किने पहिलो नेपाली नागरिक हुनेछन्। हाल जोशीको परिवार र सम्पूर्ण देश उनको सुरक्षित पुनरागमनको प्रतीक्षामा छन्।


सम्बन्धित समाचार