Logo

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल अभियानका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ।

नेविसंघका अनुसार, भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनका क्रममा उत्पन्न अप्रिय घटनामा उनीहरूको संलग्नता रहेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा लिखित उजुरी दिइएको हो।

उजुरीमा बालेन शाह र सुदन गुरुङले युवाहरुलाई आन्दोलनमा उक्साएको, आगजनी तथा तोडफोडमार्फत राष्ट्रिय सम्पदामा क्षति पु¥याएको, साथै सरकारी तथा निजी सम्पत्तिमा लुटपाट र क्षति गराएको आरोप लगाइएको छ। उनीहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन नेविसंघले माग गरेको छ।

उक्त उजुरी नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाहले दर्ता गराएका हुन्। उनीहरूले २४ घण्टाभित्र बालेन र सुदनलाई पक्राउ नगरे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

यसअघि पनि सुदन गुरुङसहित आन्दोलनकारीहरूमाथि ’राज्यद्वारा दमन गरिएको’ आरोप लगाउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायत विरुद्ध उजुरी दर्ता गरिएको थियो। त्यसपछि नेकपा एमाले निकट अनेरास्ववियुले पनि आन्दोलनकारीहरू विरुद्ध प्रहरीमा उजुरी दिएको थियो।

जेनजी आन्दोलनले ल्याएको राजनीतिक तरंग र त्यसमा भइरहेका उजुरीहरूले देशको विद्यार्थी राजनीतिमा थप तरंग उत्पन्न गराएको छ।


सम्बन्धित समाचार