२६ असोज, काठमाडौं। आईसीसी टी-२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो तथा महत्वपूर्ण खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टस जितेको छ।
ओमानको अल अमारेत ग्राण्डमा हुने यस खेलमा नेपाली टोलीका कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। खेल नेपाली समयअनुसार सवा ४ बजेबाट सुरु हुँदैछ।
सुपर सिक्समा शीर्ष तीन टोलीले विश्वकपमा स्थान बनाउने भएकाले नेपालका लागि यो खेल निकै महत्वपूर्ण छ। यूएई एसोसिएट क्रिकेटमा नेपालको चिर प्रतिद्वन्द्वी मानिन्छ र यी दुई टोलीबीचको भिडन्तलाई ‘एल क्लासिको’को नामले पनि चिनिन्छ।
नेपाली टोलीमा यसअघि समूह चरणमा जापानविरुद्ध खेलेका खेलाडीहरूलाई नै निरन्तरता दिइएको छ। प्रारम्भिक रोजाइमा कुनै परिवर्तन गरिएको छैन। समूह चरणमा अपराजित रहँदै सुपर सिक्समा प्रवेश गरेको नेपालले यूएईलाई हराएर विश्वकप यात्रा बलियो बनाउने लक्ष्य राखेको छ।

















