२६ असोज, काठमाडौं ।ओमानको अल एमिरेट क्रिकेट मैदानमा जारी आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले यूएईलाई १४१ रनको चुनौती दिएको छ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनायो। ओपनर आशिफ शेख र कुशल भुर्तेलले सानदार सुरुवात गर्दै पहिलो विकेटका लागि ७.५ ओभरमा ५६ रनको साझेदारी गरे।
कुशल भुर्तेलले २६ बलमा २ चौका र २ छक्काको मद्दतमा २८ रन बनाए भने आशिफ शेखले ४७ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५१ रनको महत्वपूर्ण योगदान दिए।
कप्तान रोहित पौडेलले १९ बलमा १ चौका प्रहार गर्दै २० रन बनाए। दीपेन्द्र सिंह ऐरी मात्र १ रनमा आउट भए। गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै ५ बलमा २ चौका र १ छक्का सहित १४ रन जोडे तर उनले पनि लामो टिक्न सकेनन्।
त्यसैगरी कुशल मल्ल १० रनमा आउट हुँदा सन्दीप जोरा (४ रन) र सोमपाल कामी (६ रन) अविजित रहे।
यूएईका लागि बलिङतर्फ हर्षित कौशिक, ध्रुव पराशर, जाहिद अली, हाइडर अली, जुनैद सिद्दीकी र मुहम्मद रोहिदले समान १/१ विकेट लिए।
अब यूएईले केही बेरमा १४१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्नेछ। नेपालको लागि यो खेल जित्नैपर्ने अवस्थामा छ, जसले विश्वकपको सम्भावनालाई जीवन्त राख्नेछ।

















