२६ असोज, वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्साले आपराधिक लाभ (ठगी) सम्बन्धी मुद्दाका आरोपी सर्लाहीका संजय कुमार ठाकुरलाई सामान्य तारेखमा छोडेको छ। ठाकुरलाई वीरगञ्ज महानगरपालिकाका कर्मचारीलाई ज्यान मार्ने धम्की दिएको र अपशब्द प्रयोग गरी गालीगलौज गरेपछि नगर प्रहरीले नियन्त्रणमा लिएर आइतबार जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो।
वीरगञ्ज महानगरपालिकाले आइतबार जिल्ला प्रहरी कार्यालय पर्सालाई औपचारिक पत्र पठाउँदै ठाकुरले विभिन्न व्यक्तिको नाममा फर्जी (नक्कली) वारेसनामा बनाई वीरगञ्जका नागरिकलाई धम्काएर रकम असुल्ने कार्यमा संलग्न रहेको भन्दै उनीमाथि कानूनी कारबाहीका लागि अनुरोध गरेको थियो।
तर, कार्यस्थलमा कर्मचारीलाई धम्क्याउने र दुर्व्यवहार गर्ने व्यक्तिलाई पर्सा प्रहरीले साधारण तारेखमा छोडेपछि महानगरका कर्मचारीहरू असन्तुष्ट बनेका छन्।
शक्ति केन्द्रको आड र प्रहरीको भूमिकामाथि प्रश्न
भ्रष्टाचार र बेथितिका विरुद्ध जनआवाज उठिरहेको समयमा पर्सा प्रहरीको यो घटनाले जनताको अपेक्षाअनुसार काम नभएको पुष्टि गरेको छ। ठाकुरले न्यायलय, अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र, प्रहरी र प्रशासनका उच्च तहका व्यक्तिहरू आफ्नो खल्तीमा रहेको भन्दै हिँड्ने गरेको सन्दर्भमा प्रहरीको व्यवहारले उनको भनाइ साँचो हो कि भन्ने भ्रम पैदा गराएको छ।
वीरगञ्ज महानगरपालिकाका एक कर्मचारीले भने, “एउटा स्थानीय सरकारले अभद्र व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिएको व्यक्तिलाई कानूनी कारबाहीका लागि प्रहरीमा पठाउँछ, तर प्रहरीले उसलाई सम्मानका साथ सामान्य तारेखमा छोडिदिन्छ भने भोलिका दिनमा कर्मचारीले कसरी निर्धक्क काम गर्न सक्ने वातावरण बन्छ ?”
महानगरपालिकाले आफ्ना प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र नक्सा शाखाका प्रमुख गौरव झामाथि समेत दुर्व्यवहार गरेको भन्दै ठाकुरलाई कानूनबमोजिम कारबाही गर्न पत्राचार गरेको थियो।
यता, संजय ठाकुरविरुद्ध आदर्शनगरका १६ जना जग्गाधनीले आपराधिक लाभ लिने उद्देश्यले ठगीको मुद्दा जिल्ला प्रहरी कार्यालयमा असोज ३ गते नै दर्ता गराएका छन्। आफ्नै कार्यालयमा दर्ता भएको गम्भीर प्रकृतिको मुद्दालाई समेत बेवास्ता गरी प्रहरीले ठाकुरलाई सामान्य तारेखमा छोड्ने निर्णयले प्रहरी स्वयं शङ्काको घेरामा परेको छ।
वीरगञ्जका विभिन्न प्रतिष्ठित सम्पत्ति (जस्तैस् स्काईलाइन महल, विभिन्न बैंक, होटल पुजन, सरोवर होटल, कन्टिइन होटल) मा किचलो पैदा गरी जग्गाधनीसँग बार्गेनिङ गर्दै हिँडेको व्यक्तिलाई राज्यका निकायबाट संरक्षण मिल्दा सुशासनको नारा लिएर गठन भएको सरकारमाथि समेत प्रश्न उठेको छ।
को हुन् संजय ठाकुर ?
सर्लाही जिल्ला बलरा नगरपालिका वडा नं. ८ स्थायी घर भएका संजय कुमार ठाकुर नापी कार्यालयका पूर्व कर्मचारी हुन्।
जागिर र राजीनामास् उनले २०५३ सालमा सर्वेक्षक पदमा जागिर खाएका थिए। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर अधिकृतमा पदोन्नति भएको भन्दै मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा दोषी ठहर हुने भएपछि उनले जागिरबाट राजीनामा दिएका थिए।
अन्य पृष्ठभूमि : नापी कार्यालयमा जागिर खानुअघि उनले २०५१ सालमा महन्थ ठाकुर कृषि मन्त्री भएको बेला सचिवालयमा काम गरेका थिए र केही समय हुलाक कार्यालयमा करारको जागिर पनि खाएका थिए।
हालको धन्दा : नापी अधिकृतको जागिर छोडेपछि बेरोजगार बनेका ठाकुरको धन्दा नै विवादित घरजग्गाको कागजात बोकेर मालपोत, नापी, नगरपालिका र सम्बन्धित जग्गाधनीको घरदैलोमा पुग्ने रहेको आरोप लागेको छ।
कार्यशैली : सुरुमा जग्गाधनीलाई फकाउने र सुनुवाइ नभए विभिन्न माध्यमबाट मानसिक त्रास सिर्जना गराई करोडौँ रुपियाँ बार्गेनिङ गर्ने गरेको आरोप सम्बन्धित जग्गाधनीको छ।
शक्ति प्रदर्शन : उनले प्रहरी महानिरीक्षक (आईजीपी), केही मन्त्रालयका सचिवहरू, सरकारी वकिल कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नापी, मालपोत र न्यायलयका उच्च तहका पदाधिकारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताउने गरेका छन्। उनले भारतीय दूतावासमा समेत आफ्नो हिमचिम रहेको भन्दै कर्मचारीलाई घुमाउरो पारामा धम्क्याउने गरेको एक कर्मचारीले बताए।
हाल ठाकुरमाथि स्काईलाइन महल, पुरानो रेल्वे लाइनमा रहेको छपकैयास्थित ३२ कट्ठा जग्गा, सलाई फ्याक्ट्रीको जग्गा र जैन धर्मशाला नजिक रहेको प्रतिष्ठित उद्योगी अशोक कुमार बैदको जग्गामा किचलो सिर्जना गरी रकम ठग्न खोजेको आरोप लागेको छ। स्काईलाइन महलका एक सञ्चालकले ठाकुरले किचलो अन्त्य गर्न १ करोड रकम मागेको बताएका छन्।
वीरगञ्जमा रहेको सार्वजनिक र व्यक्तिका सम्पत्तिमा किचलो पैदा गर्दै हिडने व्यक्तिलाई राज्यका निकायले दण्डसजाय दिनुको सट्टा संरक्षण दिन थालेपछि जेनजीले शुरु गरेको भ्रष्टाचार र कुशासन विरुद्धको लडाईँको के अर्थ रहन्छ ? एक स्थानीयले प्रश्न गरेका छन् ।
पर्साका प्रहरी उपरिक्षक सुदीपराज पाठकले महानगरपालिकाका कर्मचारीसँग ठाकुरले माफी मागेकोले तत्काल तारेखमा छोडिदिएको बताए । ठाकुर विरुद्ध पर्सा प्रहरीमा दर्ता भएको मुद्दाको विषय पछिमात्र थाहा पाए, एसपी पाठकले भने, ठाकुरलाई प्रहरी कार्यालयमा हाजीर हुन आउने गरी तारेखमा छोडिएको हो, आवश्यक परे पक्राउ पुर्जी लिएर थुनामा राखेर अनुसन्धान गर्ने छौ ।

















