Logo

२६ असोज, काठमाडौं । संसद् विघटन असंवैधानिक भएको भन्दै नेकपा ९एमाले०ले अदालत जाने निर्णय गरेको छ । भक्तपुरको गुण्डुस्थित निवासमा बसेको पार्टी सचिवालय बैठकले अदालत खुल्नासाथ पुनःस्थापनाका लागि मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले हालका राजनीतिक गतिविधिहरू चुनावमुखी नभएको बताउँदै संसद् पुनःस्थापना नै वर्तमान संकटको समाधान हुने बताए ।

‘अहिलेका कुनै पनि गतिविधि चुनाव उन्मुख छैनन्,’ उनले भने, ‘यो विघटन नै असंवैधानिक भएकाले पुनःस्थापना हुनुपर्छ भन्ने हाम्रो माग छ । अदालत खुलोस्, अनि हामी जान्छौं ।’

ज्ञवालीका अनुसार, तीन दिनदेखि जारी पदाधिकारी बैठकले संसद् पुनःस्थापनासँगै पार्टीको महाधिवेशन गर्ने र वर्तमान सरकारको ‘प्रतिगमन’ विरुद्ध एकजुट अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यी विषयलाई आगामी २९, ३० र ३१ असोजमा बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने उनले जनाए ।

‘सरकार चुनाव गराउने बाटोमा छैन, तयारी नै भएको छैन,’ ज्ञवालीले भने, ‘प्रहरी चौकीहरू लुटिने, कैदीहरू जेल तोडेर बाहिर बस्ने, चौकीहरू पुनःस्थापना नभएको अवस्थामा चुनावको वातावरण छैन । निर्वाचनको आत्मा नै मरिरहेको छ ।’

नेता ज्ञवालीले एमाले नेतृत्वमा नै देशको वर्तमान समस्याको निकास खोजिने बताए । अध्यक्ष केपी ओलीको राजीनामा मागबारे उठेका समाचारहरू अतिरञ्जित भएको उनको भनाइ थियो ।

‘मिडियामा दुई दिनदेखि नेतृत्व विवादका धेरै कुरा आएका छन्, तर त्यसो होइन,’ उनले स्पष्ट पारे, ‘नेतृत्वको विषयमा जीवन्त छलफल भएको हो । सबैले खुलेर कुरा गर्नुभएको छ, मनमाझामाझ भएको छ, हामी महाधिवेशनतिर गइरहेका छौं ।’

सचिवालय बैठकले नेकपा ९एमाले०को एघारौं महाधिवेशन मंसिरको अन्तिम साता गर्ने निर्णय गरेको छ । स्थान र मिति भने केन्द्रीय कमिटी बैठकले टुंगो लगाउने ज्ञवालीले बताए ।

‘नेकपा एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ,’ ज्ञवालीले भने, ‘यसको विस्तृत तयारी र स्थानको टुंगो केन्द्रीय कमिटी बैठकले निर्धारण गर्नेछ ।’


सम्बन्धित समाचार