Logo

२७ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको एघारौँ बैठकले पार्टीको भविष्य र देशको राजनीतिक दिशाबारे पाँच महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा असोज २४ र २६ गते सम्पन्न बैठकले पार्टी एकतालाई निष्कर्षमा पुर्याउन जोड दिँदै आसन्न निर्वाचनको तयारीमा केन्द्रित हुने निर्णय गरेको हो । उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार बैठकले पाँच वटा निर्णय गरेको छ । बैठकले पार्टी एकता वार्तालाई तत्काल निष्कर्षमा पुर्याउने निर्णय गर्नुको साथै वामपन्थी, कम्युनिस्ट र समाजवादी पार्टीहरूसँग चलिरहेको एकता सम्बन्धी वार्ता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्याउन दशौँ बैठकबाट गठित वार्ता समितिलाई जिम्मेवारी दिएको छ।

नेता बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला र प्रमेश हमाल सम्मिलित तीन सदस्यीय कार्यदलले यस कार्यलाई उक्त कार्यलाई अगाडि बढाउनेछ।

गणतन्त्र पक्षधर शक्तिहरूसँग संवाद र सहकार्य

वर्तमान संकटको समाधान, गणतन्त्र र संविधानको रक्षा तथा निर्वाचनको भरपर्दो वातावरण बनाउनका लागि लोकतान्त्रिक गणतन्त्र र संविधान पक्षधर शक्ति र पार्टीहरूबिच संवाद र सहकार्य अघि बढाउने निर्णय गरेको छ । फागुन २१ गते तोकिएको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सरोकारवाला सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउने र घोषित निर्वाचनको तयारीमा पूर्ण रूपमा जुट्ने निर्णय गरिएको छ ।

साथै, निर्वाचन आयोगले कार्तिक मसान्तसम्म चलाएको मतदाता नामावलीमा नयाँ मतदाताहरूको नाम दर्ता प्रक्रियामा सहभागी हुन सबैसँग आह्वान गर्दै पार्टी र जनवर्गीय संगठनका सबै कमिटीहरूलाई मतदाता नाम दर्ता गर्न सक्रियरूपमा लाग्न निर्देशन दिइएको छ। बैठकले पार्टीका महत्त्वपूर्ण बैठकहरू आयोजना गर्ने, स्थायी कमिटी बैठक यही असोज २९ गते स्थायी कमिटीको बैठक बस्ने र यही असोज ३० गते केन्द्रीय कमिटीको भर्चुअल बैठक गर्ने निर्णय गरेको छ ।


सम्बन्धित समाचार