Logo

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको एजेन्डालाई लिएर देखिएको तीव्र विवादका कारण केन्द्रीय कार्यसम्पादन समितिको बैठक एक दिनका लागि सरेको छ ।

केन्द्रीय समितिको बैठकका एजेन्डाहरू तय गर्न आज सोमबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक अब भोलि मङ्गलबार बिहान ११ बजे बस्ने भएको हो । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, तयारी नपुगेको कारण देखाउँदै बैठक सारिए पनि मुख्य विवाद भने पार्टीभित्रको नियमित कि विशेष महाधिवेशन गर्ने भन्नेमा केन्द्रित रहेको बुझिएको छ । केन्द्रीय समितिको बैठक पनि भोलि नै दिउँसो १ बजे सुरु हुने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

संस्थापन र इतर पक्षबीच अडान

कांग्रेसभित्र अहिले संस्थापन र इतर पक्ष आ–आफ्नो अडानमा कायम छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूले मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने भन्दै संस्थापन पक्षलाई दबाब दिइरहेका छन् । उनीहरूले नेतृत्वले अटेर गरेको भन्दै हस्ताक्षर समेत सङ्कलन गरेर राखेका छन् ।

तर, सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले भने प्राविधिक कारण देखाउँदै मंसिरमा नियमित र विशेष दुवै महाधिवेशन गर्न नसक्ने अडान राखेको छ। कार्यसम्पादन समिति बैठक सारिनुले नेतृत्वले दुवै पक्षलाई मिलाउने खालको एजेन्डा बनाउन थप समय खोजेको सङ्केत गर्छ। यो विवादका कारण आगामी केन्द्रीय समिति बैठक निकै पेचिलो बन्ने निश्चित छ।


सम्बन्धित समाचार