Logo

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले आफ्नो पार्टी आगामी निर्वाचनबाट पछि नहट्ने स्पष्ट पारेका छन् ।

मंगलबार केन्द्रीय समिति बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका खतिवडाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त भनाइ राखेका हुन् । खतिवडाले चुनावको तयारीमा कांग्रेस कटिबद्ध रहे पनि वर्तमान सरकार चुनाव गराउनका लागि राजनीतिक दलहरूसँग संवादमा नरहेको भन्दै चिन्ता व्यक्त गरे । ‘चुनाव गराउन सरकार लाग्यो भने त्यसबाट कांग्रेस पछाडि जाँदैन,’ उनले भने, ‘तर, यो देशमा राजनीतिक दल छन् भन्ने कुरा कांग्रेसले बिर्सेको जस्तो देखिन्छ। हामी अनुरोध गर्न चाहन्छौं, राजनीतिक दलसँग संवाद नगरी चुनावको बाटो तयार हुँदैन।’

केन्द्रीय समिति बैठक ‘कोशेढुंगा’ हुने विश्वास

पार्टीको आन्तरिक जीवनका लागि आजबाट बस्न लागेको केन्द्रीय समिति बैठक कोशेढुंगा सावित हुने विश्वास खतिवडाले व्यक्त गरेका छन् । उनले पार्टीभित्रको एकतामा जोड दिँदै भने, ‘कांग्रेस एक नभइ राजनीतिक अवस्था संग्लो हुने मैले देखेको छैन। यो बैठक कोशेढुंगा सावित हुने विश्वास गरेका छौं।’

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूबारे जानकारी भएको बताउँदै उनले सर्वोच्चको निर्णय पनि कुर्नुपर्ने बताए। ‘सर्वोच्च अदालतमा रिटहरू परेको हामीले सुनेका छौं। त्यसबारे पनि हामी त्यो निर्णयको प्रतिक्षा गर्छौं। तर, चुनावमा कांग्रेस पछि हट्दैन, खतिवडाले दोहोर्याए।


सम्बन्धित समाचार