२८ असोज,वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका–५ का वडा अध्यक्ष नितेश मिश्र (चुन्नु) सहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग (हत्या प्रयास) सम्बन्धी मुद्दा दर्ता भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला अदालत, वीरगञ्जले वडा अध्यक्ष मिश्रसहित अन्य चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। अदालतको आदेशपछि प्रहरीले फरार रहेका अभियुक्तहरूको खोजी कार्य तीव्र बनाएको छ।
वडा अध्यक्ष मिश्रसहित पक्राउ पुर्जी जारी भएका अन्य अभियुक्तहरूमा पर्सागढी–५ का रविरंजन मिश्र (पिन्टु), राकेश मिश्र, रुपेश मिश्र र चन्द्रमा मिश्र रहेका छन्।
प्रहरीका अनुसार मञ्जीव मिश्रको जाहेरीका आधारमा नेपाल सरकार वादी भई बृजकिशोर मिश्रसहित अन्यलाई प्रतिवादी बनाइ ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा दर्ता गरिएको हो। जाहेरीका आधारमा अनुसन्धानका क्रममा प्रमाण नष्ट हुने वा अभियुक्तहरू फरार हुने सम्भावना उच्च देखिएकाले अदालतले तत्काल पक्राउ पुर्जी जारी गर्न आदेश दिएको थियो।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (उपदफा ३) अनुसार अदालतले पक्राउ अनुमति दिएको हो।
अनुसन्धान अधिकृत प्रहरी निरीक्षक शैलेन्द्र कुमार खड्काले अदालतको आदेशअनुसार अनुसन्धान अगाडि बढाइएको जानकारी दिए। “फरार रहेका सबै व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा जारी छ,” उनले बताए।















