Logo

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी विद्रोहको दोस्रो दिन अर्थात् भदौ २४ गतेलाई नेपालको इतिहासमा एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुनेु बताएका छन् ।

जेनजी विद्रोहपछि पहिलोपटक सार्वजनिक भएका देउवाले पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकलाई लिखित सम्बोधन गर्दै उक्त धारणा राखेका हुन् । सभापति देउवाले भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भएको र त्यसपछि प्रदर्शनले अर्को रूप लिएर निर्दोष नवयुवकहरूको ज्यान गएको बताएका छन्। उनले यस घटनाले आफू र सबैलाई अत्यन्तै मर्माहित बनाएको उल्लेख गरे ।

देउवाले भदौ २४ गते बिहानैदेखि देशका मुख्य प्रशासनिक, भौतिक र ऐतिहासिक संरचनाहरूमा भएको आक्रमण र क्षतिको विस्तृत विवरण प्रस्तुत गरे। उनले आक्रमण भएका प्रमुख स्थानहरूमा राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मालपोत कार्यालय, प्रदेश तथा स्थानीय सरकारका कार्यालयहरू, प्रहरी कार्यालयहरू, राजनैतिक दलका कार्यालयहरू, नेताहरूको निजी घर, सञ्चार गृह लगायत व्यावसायिक प्रतिष्ठानहरू रहेको बताए ।

देउवाले यी सबै स्थानहरूमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरिएको उल्लेख गर्दै यसबाट ‘अकल्पनीय जनधनको क्षति’ भएको ठहर गरे । यही पृष्ठभूमिमा उनले यो दिन नेपालको इतिहासमै एक डरलाग्दो दिनका रूपमा अंकित हुने बताएका छन् ।


सम्बन्धित समाचार