२८ असोज, काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी औपचारिक रूपमा विभाजित भएको छ ।
पार्टीभित्र असन्तुष्ट पक्षले फुटाएर दिपक कुमार साहको नेतृत्वमा जनस्वराज पार्टी (जस्वपा) गठन गरेका छन् । निर्वाचन आयोगले मंगलबार बसेको बैठकबाट नवगठित ुजस्वपाु लाई दलको रूपमा मान्यता दिएको छ ।
निष्कासित उपाध्यक्ष बने अध्यक्ष
नवगठित जस्वपाको अध्यक्ष रहेका दिपक कुमार साहलाई जनमत पार्टीले पार्टी नीति विपरीत गतिविधि गरेको आरोपमा साउन २२ गते साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । निष्कासन हुनुअघि साह जनमत पार्टीका उपाध्यक्ष थिए । नयाँ दलको केन्द्रीय समितिमा सुरज सिंह, सुरेन्द्र नारायण यादव र शम्भुनाथ साह गरी तीन जना उपाध्यक्ष रहेका छन्। यस्तै, हेमलता देवी, सुनिल कुमार यादव र सञ्जय प्रसाद यादव गरी तीन जना सचिव रहेका छन्।
नयाँ दललाई आयोगको स्वीकृति
निर्वाचन आयोगका शाखा अधिकृत रुद्रवीर कार्कीका अनुसार आयोगले जनस्वराज पार्टी (जस्वपा) लाई मान्यता दिँदै दल दर्ताका बाँकी प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ। नयाँ पार्टीको झन्डामा निलो, सेतो र रातो रङको ठाडो धर्का रहनेछ। जनमत पार्टीको आन्तरिक विवाद र असन्तुष्टिको परिणाम स्वरूप यो विभाजन भएको र आयोगको मान्यतासँगै नयाँ दलले अब आफ्नो राजनीतिक गतिविधि अगाडि बढाउने जनाइएको छ।















