Logo

२८ असोज, वीरगञ्ज । मधेश प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।

प्रदेश सभा सचिवालयले मङ्गलबार एक सूचना प्रकाशित गर्दै बैठक स्थगित गरिएको जानकारी दिएको हो। प्रदेश सभा सचिव वासु प्रसाद कोइरालाद्वारा जारी सूचनामा भनिएको छ, “प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री सतिशकुमार सिंहज्यूले आजको बैठकमा पदबाट राजीनामा दिनुभएको हुँदा उत्पन्न परिस्थितिका कारण प्रदेश सभा बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ।”

यसअघि आजको बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिने कार्यसूची तय गरिएको थियो। तर, बैठक सुरु भएसँगै मुख्यमन्त्रीले पदबाट राजीनामा दिएका थिए।

राजीनामापछि सभामुख रामचन्द्र मण्डलले विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको घोषणा गरेका थिए। त्यसपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको हो।


सम्बन्धित समाचार