२८ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्म रेमिट्यान्स आप्रवाहमा ३३ प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ। अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएपछि विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउँदा लाभ हुने देखेपछि आप्रवाह तीव्र भएको हो।
नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकअनुसार, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो वृद्धि दर १५.८ प्रतिशत मात्र थियो।
साउन महिनामा एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो भने भदौ महिनामा एक खर्ब ७४ अर्ब ६७ करोड थपिएको छ, जसले दुई महिनामै आप्रवाहलाई साढे तीन खर्ब नाघाएको हो।
त्यस्तै, अमेरिकी डलरमा हेर्दा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा डलरमा यस्तो वृद्धिदर १४.२ प्रतिशत थियो।
खुद द्वितीय आय (Net Secondary Income) पनि भदौसम्ममा ३ खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब ८७ अर्ब ७६ करोड मात्र थियो।
वैदेशिक रोजगारीको तथ्यांक हेर्दा पनि वृद्धि देखिएको छ। भदौसम्ममा:
-
९० हजार १ सय ९८ जनाले पहिलोपटक अन्तिम श्रम स्वीकृति लिएका छन्,
-
४५ हजार ८ सय ८४ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
गत वर्षको सोही अवधिमा क्रमशः ७६ हजार ४ सय ८५ र ४० हजार ५ सय ८३ जनाले स्वीकृति लिएका थिए।
विशेषज्ञहरूका अनुसार नेपाली रुपैयाँ कमजोर हुँदा रेमिट्यान्स आप्रवाहमा स्वतः वृद्धि हुने प्रवृत्ति देखिन्छ। यसले देशको भुक्तानी सन्तुलन सुधारमा पनि सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ।
















