Logo

२९ असोज, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको पानी तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने व्यवसायीमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ। विभागले एक सार्वजनिक सूचना प्रकाशित गर्दै दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुँदै आएको प्लास्टिक बोतल तथा जारको पानीको शुल्क निर्धारण भइसकेको र तोकिएकोभन्दा बढी रकम लिएको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारबाही गरिने जनाएको हो।

विभागका अनुसार काठमाडौँ उपत्यकामा एक लिटरको बोतल पानीको खुद्रा मूल्य रु. १६ र उपत्यका बाहिर रु. २० तोकिएको छ। त्यस्तै, २० लिटरको जार पानी उपत्यकामा रु. ४७ र उपत्यका बाहिर रु. ६० मा बिक्री गर्न पाइने व्यवस्था गरिएको छ।

हालसम्म पानी व्यवसायीहरूले मनपरी मूल्यमा बोतल र जारको पानी बिक्री गर्दै आएको उपभोक्ताहरूको गुनासो बढेपछि विभागले यो व्यवस्था लागू गरेको हो।

विभागले तोकिएको मूल्यभन्दा बढी दरमा पानी बिक्री गरिएको देखिएमा सम्बन्धित व्यवसायीमाथि तत्काल कारबाही हुने जनाएको छ। साथै, विभागले आम उपभोक्तालाई यस्ता अनियमितता देखेमा विभाग वा मातहतका कार्यालयमा जानकारी दिन आग्रह गरेको छ।

विभागका अनुसार मूल्य निर्धारणको उद्देश्य बजारमा मूल्य स्थायित्व कायम गर्नु, उपभोक्तालाई ठगीबाट जोगाउनु र पानी आपूर्तिको वितरण प्रणालीलाई व्यवस्थित बनाउनु हो।


सम्बन्धित समाचार