Logo

२९ असोज, जनकपुर । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया थप अन्योलतर्फ धकेलिएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज अपराह्न ४ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेकी छन् ।

गएराति नेपाली कांग्रेसका प्रमुख सचेतक कुमार कान्त झाले कांग्रेस संसदीय दलका नेता कृष्णकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्न ४३ सांसदको समर्थनसहित दाबी पेश गरिएको जानकारी दिए। उक्त दाबीमा नेपाली कांग्रेस र एमालेका सांसदहरूको समर्थन रहेको छ। तर, १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक भएकाले यी दुई दलको समर्थन मात्र पर्याप्त छैन ।

झाले जनमत पार्टीको अनिश्चितताका कारण कांग्रेस–एमाले गठबन्धनको दाबी स्वीकार हुनेमा संशय रहेको बताए। केही दिनअघि जनमत पार्टीमा देखिएको फुटको प्रभाव अहिलेको सत्ता समीकरणमा निर्णायक रूपमा देखिएको हो ।

उता, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एकीकृत समाजवादी दलले पनि नयाँ गठबन्धनको तयारी थालेका छन्। यी दलहरूबीच लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउनेगरी सहमति जुटाउने प्रयास भइरहेको छ।

लोसपाकी सांसद रमिता प्रधानका अनुसार अहिले दलहरूबीच आन्तरिक छलफल जारी छ । यो गठबन्धनमा हाल ४५ सांसदको समर्थन छ। जनमत पार्टीले कुन पक्षलाई साथ दिन्छ भन्ने आधारमा सत्ता समीकरण पल्टिन सक्ने विश्लेषण गरिएको छ । जनमतले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिए ५६ र लोसपा नेतृत्वको गठबन्धनलाई साथ दिए ५८ सांसद पुग्नेछन् ।

हालै जनमत पार्टी फुटेर दीपक साहको नेतृत्वमा जनस्वराज पार्टी दर्ता भइसकेको छ । हिजो राजीनामा दिएका मुख्यमन्त्री यादवको झुकाव नयाँ पार्टीतर्फ रहेको बुझिएको छ। यसले जनमतका बाँकी सांसदहरूमा विभाजन झन् गहिरिने संकेत दिएको छ ।

यसैबीच, निर्वाचन आयोगले आजदेखि सांसदहरूलाई दल रोज्ने अवसर दिने तयारी गरेको छ। यस्तो अवस्थामा जनमतका कम्तीमा ६ जना सांसदले नयाँ दल रोज्ने तयारीमा रहेको चर्चा छ। यदि यस्तो भयो भने कांग्रेस नेतृत्वको सरकार बनाउने सम्भावना कमजोर बन्ने देखिएको छ ।

राजनीतिक विश्लेषकहरूको मतमा मधेश प्रदेशको वर्तमान अवस्था “निर्णायक क्षण” मा पुगेको छ । जनमतको निर्णय र दल-दलबीचको अन्तिम सहमति अनुसार मात्रै सरकार गठनको दिशानिर्देश तय हुनेछ ।


सम्बन्धित समाचार