२९ असोज, काठमाडौँ । श्रीलंकाको भूमिगत आपराधिक गिरोहका ६ जना सदस्य काठमाडौंबाट पक्राउ परेका छन् । उनीहरूलाई आजै स्वदेश डिपोर्ट गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
नेपाल प्रहरी र श्रीलंकन प्रहरीले संयुक्त समन्वयमा गरेको विशेष अपरेसनमार्फत सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्या प्रकरणमा संलग्न अभियुक्तहरू पक्राउ परेका हुन् । श्रीलंकाको कोलम्बोस्थित हल्फ्सडोर्प अदालत परिसरमा भएको सञ्जीवा हत्याकाण्डपछि उनीहरू नेपालमा लुकेर बस्दै आएका थिए ।
प्रहरीका अनुसार पक्राउ परेका ६ जनाले काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा सेल्टर लिएर बसोबास गरिरहेका थिए ।
पक्राउ पर्नेहरूमा श्रीलंकाको मिनुवनगोडा निवासी इसारा सेउबन्दी (२६), जीवथासन कनाकरासा (३३), ठाक्सी नन्थाकुमार (२३), दिनेश श्यामन्था दि सिल्भा (४९), केनेडी बस्टिम्पिल्ले (३५) र दिनेश निसन्था कुमारा विक्रम आचिर्च्चगे (४३) रहेका छन् ।
यसमध्ये इसारा सेउबन्दी सञ्जीवा हत्या प्रकरणकी मुख्य अभियुक्त हुन्। उनीमाथि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले रेड नोटिस जारी गरेको थियो। सन् २०२४ फेब्रुअरी १९ (फागुन ७, २०८०) मा कोलम्बोको मजिस्ट्रेट कोर्ट परिसरमै सञ्जीवाको गोली हानी हत्या गरिएको थियो ।
कुख्यात गिरोह ‘केहेलबड्डरा पद्ये समूह’सँग सम्बन्ध
पक्राउ परेकाहरू सबै श्रीलंकाको कुख्यात भूमिगत समूह ‘केहेलबड्डरा पद्ये नेटवर्क’ का सदस्य भएको नेपाल प्रहरीले जनाएको छ। पद्येले मलेसिया र दुबईबाट लामो समयदेखि सङ्गठित अपराध, लागूऔषध तस्करी र पैसाको अवैध कारोबार सञ्चालन गर्दै आएको श्रीलंकन प्रहरी स्रोतलाई उद्धृत गर्दै जनाइएको छ ।
पद्येविरुद्ध पनि इन्टरपोलमा रेड नोटिस जारी गरिएको थियो। उनलाई गत २५ अगस्टमा इन्डोनेसियाबाट पक्राउ गरिएको थियो। श्रीलंकन सञ्चारमाध्यमका अनुसार, सञ्जीवा हत्याको योजनाकार पनि पद्ये नै हुन् ।
उनीहरूलाई हाल काठमाडौंस्थित प्रहरीको विशेष शाखामा राखिएको छ। प्रहरी स्रोतका अनुसार श्रीलंकन दूतावाससँग समन्वय गरी आजै बेलुकीसम्म काठमाडौंबाट डिपोर्ट गरिने तयारी भइरहेको छ ।
नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार, “यो समन्वित अन्तर्राष्ट्रिय अपरेसन हो। नेपालमा कुनै आपराधिक गतिविधि गर्नुअघि नै उनीहरू नियन्त्रणमा आएका छन्, जसले नेपालमा अन्तर्राष्ट्रिय अपराध नियन्त्रणमा सन्देश दिनेछ।”
अन्तर्राष्ट्रिय अपराध नियन्त्रणको दृष्टिले यसलाई नेपाल प्रहरीको महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।















