२९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक किचलो सतहमा आएको छ ।
पार्टीका दुई जना महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्ती कुमारी शाहीले बुधबार बिहान बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बहिस्कार गरेका छन् । नेतृत्वलाई स्पष्ट ४ बुँदे मागसहितको पत्र बुझाउँदै उनीहरूले बैठकमा अनुपस्थित भएको जानकारी गराएका छन् । यस बहिस्कारलाई पार्टीभित्र अध्यक्ष र विधान कार्यान्वयनमाथि सिधै दबाब बढाउने रणनीतिका रूपमा हेरिएको छ ।
महाधिवेशनदेखि निष्कासनसम्मको ४ बुँदे माग
विधानबमोजिम महाधिवेशन सम्पन्न गर्न तत्काल महाधिवेशनको मिति तोकिनुपर्ने, विधानविपरीत भएका निष्कासन र कारबाहीसम्बन्धी निर्णयहरू तत्काल फिर्ता गरिनुपर्ने, निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम गर्नुपर्ने, पार्टीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न दुई पूर्वअध्यक्षहरूसहितको एक समाधान समिति गठन गरिनुपर्ने लगायतका माग राखिएको छ । महामन्त्रीद्वयले यी माग पूरा नभएसम्म बैठकमा सहभागी नहुने अडान लिएका छन्।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने आन्तरिक विवादलाई सामान्यीकरण गर्ने प्रयास गरेका छन् । उनका अनुसार, बोलाइएको बैठक परिवर्तित सन्दर्भमा पार्टीको धारणा तय गर्ने तथा स्थानीय तह र जिल्ला अधिवेशनहरूको प्रगति समीक्षा गर्ने उद्देश्यले राखिएको थियो । उनले बैठकमा साङ्गठनिक सुदृढीकरण एवं समसामयिक र पार्टी जीवनका विविध विषयमा पनि छलफल गर्ने एजेन्डा रहेको बताए । तर, महामन्त्रीद्वयको बहिस्कारले भने पार्टीको एजेन्डा र सञ्चालनमा ठूलो असन्तुष्टि रहेको र नेतृत्वले तुरुन्तै आन्तरिक सुधार गर्नुपर्ने दबाब बढेको प्रष्ट देखाउँछ।















