२९ असोज,वीरगञ्ज । पर्साको विन्ध्यवासिनी गाउँपालिका प्रसौनीभाटा निवासी हृदेश कुम्हाल पण्डितले यस वर्ष पनि दीपावली (तिहार) र छठपर्वलाई लक्षित गर्दै माटोका परम्परागत भाँडाकुँडाको पसल वीरगञ्जको घण्टाघर अगाडि सडक छेउमा सञ्चालनमा ल्याउनुभएको छ।
विगत लामो समयदेखि यो व्यवसाय गर्दै आउनुभएका हृदेशले यसपटक केही ढिलो गरी पसल थालेको बताउनुभयो। उहाँका अनुसार, “दशैंदेखि नै गाउँमै माटोका भाँडा बनाउने काम सुरु गरेका थियौं, तर यसपटक केही ढिलो भयो। नत्र पहिले नै यहाँ पसल थाप्थें।” यद्यपि ढिलो भए पनि व्यापार राम्रै हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ।
यो व्यवसायलाई हृदेशले पारिवारिक रूपमा निरन्तरता दिँदै आउनुभएको छ। उहाँले यसपटक माटोको भाँडा बनाउनमा करिब २२–२३ हजार रुपैयाँ लागत लागेको जानकारी दिनुभयो। यस व्यवसायबाट ४०–४५ हजार रुपैयाँसम्म आम्दानी हुने उहाँको अपेक्षा छ।
वीरगञ्ज महानगरपालिकाले सडक छेउमा साना व्यापारीलाई निःशुल्क रूपमा ठाउँ उपलब्ध गराउँदै आएको छ। हृदेशले भन्नुभयो, “हामीसँग नगरपालिकाले कुनै किसिमको भाडा माग्दैन, ठाउँ निशुल्क दिन्छ।”
हाल उहाँको पसलमा विभिन्न प्रकारका माटोका भाँडाकुँडाहरू उपलब्ध छन्। १०० वटा दियालो दियरी २०० रुपैयाँमा बिक्री भइरहेको छ भने कलश (कलशा) ६० रुपैयाँमा पाइन्छ। विशेष गरी छठ पूजामा कोशीमा प्रयोग हुने ‘चउदईया’ ४५० रुपैयाँमा बिक्री भइरहेको छ।
उहाँले यो पसल आजदेखि छठ पर्वसम्म सञ्चालनमा रहने जानकारी दिनुभयो। छठ नजिकिँदै गर्दा वीरगञ्ज लगायतका सहरमा माटोका भाँडाका व्यापारीहरू सक्रिय देखिएका छन्, जसले नेपाली चाडपर्वहरूमा प्रयोग हुने परम्परागत सामग्रीको उपलब्धता सुनिश्चित गरेका छन्।















