२९ असोज,सेढवा।दशैँ सकिएसँगै तिहार नजिकिँदै गर्दा पर्सा जिल्लाका ग्रामीण बासिन्दाहरूलाई यतिबेला घरको लिपपोत र ‘कातिकी’ कामले भ्याई नभ्याई भएको छ। वर्षायामका कारण घरका भित्ता, छाना र आँगनमा झारपात उमिर्एर भएका फोहोरलाई सरसफाइ गर्ने कार्यमा ग्रामीण बासिन्दाहरू जुटेका छन्।
विशेषगरी लक्ष्मी पूजाको लागि घर आँगनलाई सुन्दर बनाउन अधिकांश गृहिणीहरू लागिपरेका छन्। भाँचिएका खरका भित्तालाई पुनः नयाँ निर्माण गरी पहेँलो चिम्ट्याइलो माटोले लिपपोत गर्नका लागि उनीहरू एकाबिहानैदेखि सक्रिय भएका छन्।
जिराभवानी गाउँपालिका वडा नं. २ सेढवाकी कान्ती देवीले भनिन्, “गृहिणीहरूले माटोमा गाईबस्तुको गोबर, गहुँ वा धानको परालको भुस तथा पानी मिसाएर मुछेर खरको भित्ता र सतह लिपपोत गरिरहेका छन्।” यस वर्ष ढिलोसम्म परेको पानीका कारण घर आँगनको सरसफाइ तथा सुन्दर बनाउने काममा ढिलो भएकाले अहिले तिहारको तयारीमा हतार भएको पनि उनले बताइन्।
बाली भण्डारण र हिउँदे खेतीको तयारी
घर लिपपोतसँगै किसानहरू खेतमा पाक्न लागेका वर्षे बाली (धान) को भण्डारण व्यवस्थापनका लागि पनि तयारीमा जुटेका छन्। यस क्षेत्रमा प्रायः धान भण्डारणका लागि बाँसको भाटाबाट बनाइएका ‘भकारी’ प्रयोग गर्ने गरिन्छ। किसानहरूले वर्षायाममा भत्केका तथा फुसका छानालाई मर्मत गरी लिपपोत गर्न थालेको जनाएका छन्।
यसै समयमा ‘कातिकी’ काममा पनि किसानहरू व्यस्त रहेका छन्। तोरी, रायो, आलु, लसुन, चमसुर, धनियाँ, भण्टा, काउली, बन्दा लगायतका हिउँदे तरकारी रोप्ने तयारी भइरहेको जगरनाथपुर गाउँपालिका वडा नं. ३ का रामचन्द्र यादवले बताए। यी तरकारी बालीको रोपाईका लागि खाली खेतको सरसफाइ तथा खनजोतमा किसानहरू लागेका छन्। किसान यादवका अनुसार, “अहिले राम्रोसँग उत्पादन गर्न सके आलु, लसुनले वर्ष भरी नै काम चल्ने भएकाले कात्तिक महिनामा यसको उत्पादनमा लाग्ने गरेका छौँ।”
तोरी खेतीमा समस्या
यता, जिराभवानी र ठोरी गाउँपालिकाका किसानहरूले तेलहन बाली अन्तर्गत तोरी खेतीमा भने समस्या हुने बताएका छन्। अहिले पनि खेतमा पानी जमेका कारण तोरीको रोपाई गर्न नसकिएको किसानहरूको भनाइ छ। तोरी ढिलो गरेर छरे बालामा दाना लाग्ने बेलामा निकै जाडो हुने हुँदा उत्पादनमा निकै कमी हुने किसानहरूले जनाएका छन्। यस क्षेत्रमा करिब ६ देखि ८ सय बिघा जग्गामा तोरी खेती हुँदै आएको छ।















