२९ असोज २०८२, काठमाडौँ। नेकपा एमालेले आफ्नो महाधिवेशनको मिति औपचारिक रूपमा प्रस्ताव गरेको छ।
राजनीतिक अन्योलका बीच पार्टीलाई नयाँ ‘फ्रेस म्यान्डेट’ सहित जनतामाझ लैजाने तयारी गरिरहेको एमालेले मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विशेष प्रस्ताव पेस गर्दै मंसिर २७, २८ र २९ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
सचिवालयको निर्णयलाई केन्द्रीय अनुमोदन
यसअघि बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरिसकेको थियो। सोहीअनुसार आजको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले मिति निश्चित गरी प्रस्ताव गरेका हुन् । केन्द्रीय कमिटीको यो निर्णयले पार्टीलाई आगामी राजनीतिक र चुनावी तयारीका लागि वैधानिकता प्रदान गर्नेछ ।
एमालेले आफ्नो महाधिवेशनबाट सङ्गठनलाई सुदृढ गर्दै देशको समसामयिक राजनीतिक दिशा तय गर्ने रणनीति लिएको देखिन्छ। यस घोषणाले एमाले लामो समयसम्म सरकार बाहिर रहने पक्षमा नरहेको र छिटोभन्दा छिटो जनतामा जाने तयारीमा जुटेको सन्देश दिएको छ।















