२९ असोज, जनकपुरधाम। मधेश प्रदेशको राजनीतिमा तनाव उत्पन्न भएको छ। निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह नयाँ गठित जन स्वराज पार्टी (जस्वपा) मा सनाखत गर्न निर्वाचन कार्यालय जनकपुर पुग्दा जनमत पार्टीका नेता कार्यकर्तासँग झडप भएको छ।
जस्वपामा सनाखत गर्न पुगेका सिंह र साहलाई जनमतका कार्यकर्ताहरूले रोक्न खोज्दा सामान्य झडप भएको थियो । जनमतका नेता कार्यकर्ताहरूले निवर्तमान मुख्यमन्त्री सिंह सवार गाडीमाथि आक्रमण र तोडफोडको प्रयास गरेका थिए। तर, सुरक्षाकर्मीहरूले हस्तक्षेप गरी गाडीलाई क्षति हुनबाट जोगाएका थिए ।
जनमत फुटाएर ‘जस्वपा’ गठन
जन स्वराज पार्टीको गठन मंगलबार मात्रै जनमत पार्टीका असन्तुष्ट पक्षले गरेका थिए। निर्वाचन आयोगले मंगलबारको बैठकबाटै जस्वपालाई दलको मान्यता दिइसकेको छ । नवगठित जस्वपाको नेतृत्व दीपककुमार साहले गरेका छन् । जनमत पार्टीमा उपाध्यक्ष रहेका साहलाई पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै २२ साउनमा साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको थियो । जस्वपाको पदाधिकारीमा दीपककुमार साह अध्यक्ष छन् भने सुरज सिंह, सुरेन्द्र नारायण यादव, शम्भुनाथ साह लगायत तीन जना उपाध्यक्षहरू छन् । निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहको यो ुजस्वपाु प्रवेशसँगै मधेशको राजनीतिक समीकरणमा ठूलो फेरबदल आउने संकेत देखिएको छ ।















