Logo

२९ असोज,वीरगञ्ज ।जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जसपाले सक्रिय रूपमा भाग लिने घोषणा गरेका छन्। वीरगन्जमा बुधबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी निर्वाचनका लागि तयारी अवस्थामा रहेको स्पष्ट पारे।

यादवले भने, “अहिलेको अन्तरिम सरकार चुनाव गराउनकै लागि बनेको हो। त्यसैले प्रधानमन्त्री सुशीला कार्कीले हिन्दी फिल्म ‘नायक’ का अनिल कपूरझैं इमान्दारीपूर्वक चुनाव गराउनु पर्छ।” उनले सबै राजनीतिक दललाई चुनावको माहोल बनाउन आह्वान गरे।

जेनरेशन जस्टिस (जेनजी) आन्दोलनपछिको राजनीतिक तरलतामा संघीयतामाथि गम्भीर प्रहार भइरहेको भन्दै यादवले मधेसी जनतालाई सतर्क रहन आग्रह गरे। उनले भने, “२०७२ अघिको अवस्थामा मधेसीलाई फर्काउने षड्यन्त्र भइरहेको छ। यदि संघीयता र मधेसका मुद्दामाथि आक्रमण भयो भने, फेरि लाठी डन्डासहित आन्दोलनमा उत्रिनुपर्ने हुन्छ।”

संघीयता मधेस आन्दोलनको उपज र मधेसी पहिचानसँग गाँसिएको विषय भएकोले यसको रक्षा मधेसी जनताको जिम्मेवारी भएको उनको भनाइ थियो।

पूर्वमन्त्री यादवले जेनजी आन्दोलनमा युवाहरूप्रति भएको दमनप्रति दुःख व्यक्त गर्दै भदौ २४ मा आफूले मन्त्री पदबाट राजीनामा दिएको स्मरण गरे। उनले आन्दोलनको समर्थनमा उत्रिँदा आफ्नो र अन्य नेताहरूको घर तथा सार्वजनिक सम्पत्तिमा लुटपाट र आगजनी भएको घटनालाई दुर्भाग्यपूर्ण भने।

यादवले वर्तमान सरकार संविधानसम्मत नभए पनि जेनजी आन्दोलनको भावना र चाहनाबाट बनेको बताउँदै राष्ट्रपतिद्वारा निभाइएको भूमिकाको प्रशंसा गरे। “संविधान र लोकतन्त्रको रक्षा तथा राष्ट्रिय एकताको पक्षमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको सरकार बनाउने निर्णय गर्नु सराहनीय हो,” उनले भने।

नेपाल प्रहरीको मनोबल जेनजी आन्दोलनपछि कमजोर भएको भन्दै यादवले सरकारले प्रहरीको संख्या, शसस्त्र क्षमता, र प्रविधिमा ध्यान दिनुपर्ने माग गरे। “सेनाजस्तै प्रहरीका लागि पनि हेलिकप्टरको व्यवस्था गर्नुपर्छ,” उनले भने।

त्यस्तै, नेपाली सेनाले तत्कालीन राष्ट्रपति, प्रधानमन्त्री र सांसदहरूको सुरक्षामा खेलेको भूमिकाको पनि उनले प्रशंसा गरे।

नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने बहस चलिरहेको सन्दर्भमा यादवले केवल युवाहरूबाट देश बन्न नसक्ने बताए। “नयाँ पुस्ताको जोश र अनुभवी पुस्ताको होस सँगसँगै रहँदा मात्रै देशको निकास सम्भव हुन्छ,” उनले स्पष्ट पारे।

भेलामा जसपा पर्साका अध्यक्ष सिगासन सा तेलीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरका मेयर तथा जसपाका केन्द्रीय सदस्य राजेशमान सिंह, जनार्दन यादव, पुरुषोत्तम झा, मोहनलाल चौधरी, सलमा खातुन, मुकेश द्विवेदीलगायत नेताहरूले पनि सम्बोधन गर्दै पार्टीलाई आगामी चुनावका लागि एकजुट भएर अघि बढ्न आग्रह गरे।


सम्बन्धित समाचार