२९ असोज,वीरगञ्ज । मधेस प्रदेशमा सक्रिय जनमत पार्टी औपचारिक रूपमा विभाजित भएको छ। निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साहले बुधबार निर्वाचन आयोगमा गएर नवगठित जनस्वराज पार्टी (जस्वपा) मा आफ्नो सनाखत गराएका छन्।
जनकपुरधामस्थित मधेस प्रदेश निर्वाचन आयोग कार्यालयमा पुगेर दुवै नेताले नयाँ दलसँग आफ्नो राजनीतिक पहिचान जोडिएको औपचारिक पुष्टि गरेका हुन्। उनीहरू जनमत पार्टीको असन्तुष्ट समूहका अगुवा नेताका रूपमा चिनिएका थिए।
मुख्यमन्त्री सिंह सनाखत गर्न कार्यालय जाँदै गर्दा उनलाई रोक्न जनमत पार्टीका नेता तथा कार्यकर्ताहरू पनि त्यहीँ पुगेका थिए। यसक्रममा उनीहरूबीच सामान्य झडप भएको थियो, यद्यपि सुरक्षा निकायको संयोजनमा स्थिति नियन्त्रणमा लिइएको थियो।
जनमत पार्टीको मधेस प्रदेश संसदीय दलमा कुल १३ जना सांसद छन्। मंगलबार असन्तुष्ट समूहले औपचारिक रूपमा पार्टी विभाजन गर्दै नयाँ दल जनस्वराज पार्टी (जस्वपा) गठनको घोषणा गरेका थिए।सतिशकुमार सिंह र त्रिभुवन साहले आफूहरू जनमतभित्रको नेतृत्वविहीनता, गुटबन्दी, र मधेसको मुद्दाप्रति बेवास्ताको विरोधस्वरूप नयाँ बाटो रोजेको दाबी गर्दै आएका छन्।
अब के हुन्छ?
पार्टी विभाजनपछिको राजनीतिक समीकरण मधेस प्रदेशमा फेरि जटिल बन्दै गएको छ। जनस्वराज पार्टीले अब प्रदेशसभामा छुट्टै दलको मान्यता पाउने सम्भावना छ भने सरकार गठनका समीकरणमा पनि यसको प्रभाव देखिने अपेक्षा गरिएको छ।
यसबीच, जनमत पार्टीको आधिकारिक नेतृत्वले भने पार्टी विभाजन असंवैधानिक भएको र आवश्यक कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिइसकेको छ।















