Logo

२९ असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको नाममा विभिन्न सरकारी तथा संवैधानिक निकायका कर्मचारी र पदाधिकारीहरूलाई धम्क्याउने व्यक्तिहरूमाथि सरकारले कडा निगरानी गरिरहेको स्पष्ट पारेका छन् ।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले अधिकार नभएको व्यक्ति कार्यालयमा गएर धम्क्याउनु कानुनी शासनको उपहास भएको बताएका हुन्। उनले जेनजीको विद्रोह सुशासनका लागि भएको भन्दै जेनजीको नाममा कसैले गलत क्रियाकलाप गरेमा कारवाही हुने चेतावनी दिएका छन् । गृहमन्त्री अर्यालले सुशासन भनेको विधिको शासनबाट सुरु हुने भन्दै धम्क्याउने छुट कसैलाई पनि नभएको बताए ।

उनले सबै नागरिकलाई कानुन बमोजिम चल्न सुझाव दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल वायुसेवा निगम, नेपाल गरिक उड्डयन प्राधिकरण लगायतका कार्यालयहरूमा केही व्यक्तिहरू जेनजीको नाम लिँदै प्रवेश गरी कर्मचारीलाई हप्काउने, राजीनामा दिन दबाब दिने जस्ता गतिविधि गरिरहेको पृष्ठभूमिमा गृहमन्त्रीको यो चेतावनी आएको हो । सरकारले सुरक्षा निकाय मार्फत यस्ता विधिको शासन विपरीतका गतिविधिहरूलाई रोक्न कारबाही प्रक्रिया अगाडि बढाउने स्पष्ट संकेत दिएको छ।


सम्बन्धित समाचार