२९ असोज, धादिङ। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँगको सम्भावित पार्टी एकताका लागि स्पष्ट शर्त राखेका छन् ।
उनले वर्तमान नेतृत्वमा परिवर्तन आएमा एमालेसँग पनि एकता हुन सक्ने बलियो राजनीतिक सङ्केत दिएका हुन् । धादिङको बेनिघाट रोराङमा आयोजित एक भेटघाट कार्यक्रममा पार्टीका युवा तथा नेताकार्यकर्तासँग कुराकानी गर्दै प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि प्रश्नचिह्न खडा गरेका छन् ।
प्रचण्डको भनाइको आशयः ‘यदि एमालेमा ओलीको नेतृत्व नरहे र विचारमा परिवर्तन आएमा माओवादी केन्द्रले एमालेसँग पनि पुनः एकता गर्न सक्छ।’ भन्ने थियो । संयोजक प्रचण्डले यस अवसरमा आगामी निर्वाचनलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताएका छन् । उनले पार्टीको आगामी लाइन अब निर्वाचन केन्द्रित हुने स्पष्ट पारेका छन् ।
प्रचण्डको यो भनाइलाई एमालेभित्रको आन्तरिक शक्ति सन्तुलन र विभाजित कम्युनिस्ट शक्तिहरूलाई पुनः एकीकरण गर्ने रणनीतिक प्रयासका रूपमा हेरिएको छ। यसले नेपाली राजनीतिमा कम्युनिस्ट एकताको बहसलाई नयाँ मोड दिएको छ।















